‘के घर के डेरा : घर नं २’ को प्रिमियरमा दर्शक र कलाकार एकसाथ



काठमाडौं – बुधवार साँझ निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ को ग्रान्ड प्रिमियर सम्पन्न भयो । यो प्रिमियर अरू चलचित्रको भन्दा फरक थियो । यसमा कलाकार र पत्रकार मात्र नभएर सामान्य दर्शकहरू पनि सहभागी थिए ।

निर्माण टोलीले यस पटक १८० जना साधारण दर्शकलाई छानेर प्रिमियरमा बोलाएको थियो । कलाकार र निर्देशकहरू पनि ती दर्शकहरूसँगै बसेर चलचित्र हेरेका थिए । चलचित्र हेरिसकेपछि निर्माण पक्षले ती दर्शकहरूको प्रतिक्रिया पनि लिएको थियो ।

यसरी साधारण दर्शकलाई प्रिमियरमा बोलाउनुको मुख्य उद्देश्य उनीहरूको वास्तविक प्रतिक्रिया जान्नू थियो । नेपाली चलचित्रको प्रिमियरमा प्रायः कलाकार, पत्रकार र आफन्तहरूलाई मात्र बोलाउने चलन छ । तर ‘के घर के डेरा : घर नं २’ को निर्माण टोलीले यो चलनलाई तोड्दै सामान्य दर्शकलाई चलचित्र देखाएको हो ।

प्रिमियरमा चलचित्र हेरेका दर्शकहरूले ‘के घर के डेरा : घर नं २’ को धेरै प्रशंसा गरेका छन् । उनीहरूले यो चलचित्र सबै नेपाली नागरिकले हेर्नुपर्ने बताएका छन् । दर्शकहरूले यो चलचित्र घरभेटी र डेरावालको मात्र नभएर आम मानिसको कथा भएको प्रतिक्रिया दिएका छन् ।

अभिनेता हरिवंश आचार्यले चलचित्रको प्राविधिक पक्ष निकै राम्रो लागेको बताए । उनले कलाकारहरूको अभिनय पनि उत्कृष्ट रहेको र चलचित्रले मध्यम वर्गीय जीवन र आर्थिक समस्यालाई प्रभावकारी रूपमा देखाएको बताए । अभिनेत्री स्वस्तिमा खड्काले यो चलचित्र पारिवारिक मूल्यमान्यतामा आधारित रहेको बताइन्। । उनले यो चलचित्र मन छुने र सजिलै भावनात्मक सम्बन्ध बनाउन सकिने खालको रहेको बताइन् ।

अभिनेत्री मनीषा कोइरालाले चलचित्रको कथाले आफ्नो मनमा गहिरो प्रभाव पारेको बताइन् । उनले कथा मर्मस्पर्शी रहेको र चलचित्र हेर्दा कथाको पीडा महसुस गर्न सकिने बताइन् । गायिका अन्जु पन्तले चलचित्रमा देखाइएको सम्बन्धको महत्त्व र दुःखसँग लड्ने तरिकाको प्रशंसा गरिन् । उनले यो चलचित्र कहिले हँसाउने र कहिले भावुक बनाउने खालको रहेको र सम्बन्ध जोगाउने सन्देश मन परेको बताइन् ।

साधारण दर्शकहरूको सकारात्मक प्रतिक्रियाले निर्माण टोली उत्साहित भएको छ । अभिनेत्री केकी अधिकारीले दर्शकहरूसँगै बसेर चलचित्र हेर्न पाउँदा आफू धेरै खुसी भएको र चलचित्र हेर्दा आफू पनि दुई तीन ठाउँमा भावुक भएको बताइन् ।

निर्देशक दीपेन्द्र के. खनालले प्रिमियरमा साधारण दर्शकलाई बोलाउनुको कारण चलचित्र जस्तो छ, त्यस्तै प्रतिक्रिया सुन्नु रहेको बताए । ‘के घर के डेरा : घर नं २’ भोलिदेखि देशभर प्रदर्शन हुँदैछ । साहित्यकार बुद्धि सागरले लेखेको यो चलचित्रमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu