जन्ते बाख्रोको ‘मुकु मुकु म्या’ गीतमा के छ ?



काठमाडौं – आगामी जेठ २३ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘जन्ते बाख्रो’को तेस्रो गीत ‘मुकु मुकु म्या’ सार्वजनिक भएको छ । जी टुवान डिजिटलमार्फत बुधवार सार्वजनिक गरिएको यो गीत चलचित्रको शीर्ष गीत हो । नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई सुन्दर ढङ्गले चित्रण गरिएको यस गीतमा चलचित्रका मुख्य पात्र सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी लगायत फिचर्ड छन् ।

‘मुकु मुकु म्या’ गीतले नेपाली विवाह परम्पराको एक महत्त्वपूर्ण पक्षलाई उजागर गरेको छ । विशेष गरी बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा ‘जन्ते बाख्रो’ खुवाउने चलनमाथि यो चलचित्र आधारित रहेको निर्देशक सिमोश सुनुवारले बताएका छन् । यसै परम्परालाई गीतमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ । गीतमा देखाइएका दृश्यहरूले ग्रामीण परिवेश, जन्तीको उत्साह र सांस्कृतिक सौन्दर्यलाई जीवन्त बनाएका छन् ।

गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द रहेको छ भने कृष्ण भारद्वाजले नै स्वर दिएका छन् । गीतलाई प्रदीप लामाले कोरियोग्राफी गरेका हुन् र लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । सामाजिक कमेडी कथावस्तुमा आधारित यस चलचित्रले नेपाली समाजको एउटा रमाइलो सांस्कृतिक पक्षलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्र सन्तोष गौतमले निर्माण गरेका हुन् । प्रदीप भारद्वाजको लेखन, हरि हुमागाईँको छायाङ्कन निर्देशन, उत्तम हुमागाईँको छायाङ्कन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । यसअघि सार्वजनिक भएका चलचित्रका दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई पनि दर्शकले रुचाएका थिए ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu