राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहा: अवतार’ प्रदर्शनमा, कति शो पायो ?



काठमाडौं – महानायक राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहा: अवतार’ शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । आठ वर्षपछि पर्दामा फर्किएका हमालले एक्सन प्रधान भूमिकामा अवतार लिएका छन् । चलचित्रको देशव्यापी शो सङ्ख्या करिब १४० रहेको छ ।

चलचित्रमा उनले अन्याय र अत्याचारको विरुद्ध लड्ने पात्र ‘नरसिंहा’को भूमिका निभाएका छन् । हमाल आफ्नै पुरानो स्टाइलमा प्रस्तुत भएका छन्, जसमा ‘हे!’ बाट सुरु हुने संवाद दर्शकलाई झनै उत्साहित बनाएको छ । 

‘नरसिंहा: अवतार’मा नायिका नीति शाहले हमालकी पत्नीको भूमिका निभाएकी छन् भने नव अभिनेता राज कटुवाललाई पनि एक्सन अवतारमा देख्न सकिन्छ । चलचित्रलाई दिवाकर भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् ।

चलचित्रमा सरोज खनाल, सनिशा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जङ्ग बस्नेत, दीपा शाही, अमित गिरी र एभेलिना खड्का लगायतका कलाकारको पनि अभिनय छ । निर्माण पक्षमा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने रहेका छन् ।

यसैबीच, दुई साताअघि रिलिज भएको चलचित्र ‘ऊनको स्विटर’ले तेस्रो सातासम्म आइपुग्दा पनि १२० भन्दा धेरै शो पाएको छ । त्यस्तै, गत साता रिलिज भएको दीपेन्द्र के. खनाल निर्देशित ‘के घर के डेरा’ले भने शुक्रवारको लागि देशभर २० शो मात्र पाएको देखिन्छ । त्यसै गरी, ११औँ हप्तामा प्रदर्शनरत अर्को नेपाली चलचित्र ‘अञ्जिला’ काठमाडौंको सामाखुसीस्थित सिटि स्क्वाय मलमा रहेको क्युएफएक्स सिनेमा हलमा प्रदर्शनरत छ । साथै, दुई नेपाली चलचित्रहरू ‘पिताम्बर’ र ‘लाज शरणम्’ पनि काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेमा हलमा प्रदर्शनरत छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu