
विदुर – नुवाकोटको विदुर नगरपालिका–४, बट्टारमा अब स्थानीय दर्शकले आधुनिक सिनेमाको अनुभव लिन पाउने भएका छन् । यहाँ ‘शिवालय सिनेप्लेक्स’ को औपचारिक उद्घाटन भएसँगै नुवाकोटमा नयाँ चलचित्र हल सञ्चालनमा आएको हो ।
चलचित्र विकास बोर्डले बन्द भएका सिनेमा हलहरूलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने अभियानअन्तर्गत यो सिनेप्लेक्स निर्माण भएको हो । आइतबार बोर्डका अध्यक्ष दिनेश डिसीले यसको उद्घाटन गरे ।
२४० सिट क्षमताको यो सिनेप्लेक्स स्थानीय युवा उद्यमीहरू सन्तोष सरगम अधिकारी र पासाङ लामा गोपालको संयुक्त लगानी र पहलमा सञ्चालनमा आएको हो । उद्घाटन समारोहमा विदुर नगरपालिकाका पूर्व नगरप्रमुख सञ्जु पण्डित, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष बुद्धिबहादुर प्रधान, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल चलचित्र सङ्घका उपाध्यक्ष गोपाल कायस्थ लगायत चलचित्रकर्मी, व्यवसायी, सञ्चारकर्मी र स्थानीय समुदायको उल्लेख्य उपस्थिति थियो ।
शिवालय सिनेप्लेक्समा अत्याधुनिक डिजिटल प्रोजेक्सन प्रणाली, उच्च स्तरीय ध्वनि व्यवस्था, वातानुकूलित हल, आरामदायी सिटहरू र अनलाइन बुकिङ सुविधा उपलब्ध छन् । सञ्चालकहरूका अनुसार, प्रत्येक शनिवार चार शो र अन्य दिनहरूमा तीन शो प्रदर्शन गरिनेछ ।
यस सिनेप्लेक्सको सञ्चालनले नुवाकोटमा चलचित्र उद्योगको विकासमा टेवा पुग्ने र स्थानीय दर्शकहरूलाई मनोरञ्जनको नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।