मेरिल्यान्डमा नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ को रौनक



मेरिल्यान्ड – अमेरिकाको मेरिल्यान्डमा हरेक वर्ष आयोजना हुँदै आएको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक भएको छ । यस वर्षको महोत्सव जुन २६ देखि २९ सम्म चल्नेछ, जसमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदी अरेबिया लगायत १५ देशका विभिन्न विधाका ३१ चलचित्रहरू प्रदर्शन हुनेछन् ।

महोत्सवको उद्घाटन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा जुन २६ तारिख बिहीबार मिन बहादुर भामद्वारा निर्देशित तथा गत वर्ष बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा रहेको ‘शाम्बाला’ को प्रदर्शनसँगै हुनेछ । त्यसैगरी, महोत्सवको समापन जुन २९ तारिख आइतबार सोही स्थानमा दीपक रौनियारद्वारा निर्देशित तथा गत वर्ष भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको ‘पूजा सर (राजागंज)’ को प्रदर्शनसँगै हुने कार्यक्रम रहेको छ ।

यस वर्षको महोत्सवमा अमेरिकी नेपाली डायस्पोरामा बनेको विनोद पौडेलद्वारा निर्देशित ‘भुठान: द वर्ल्ड ह्यापिएस्ट म्यान’ को पनि विशेष रेड कार्पेट प्रिमियर हुनेछ । यस अवसरमा निर्देशक, कलाकार, निर्माता र निर्माण टोलीका सदस्यहरूको उपस्थिति रहनेछ ।

महोत्सवका चलचित्रहरू एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन गरिनेछ । प्रदर्शनका लागि प्राप्त आवेदनहरूमध्ये अमेरिका, नेपाल र दक्षिण अफ्रिकाका फिल्मकर्मीहरू सम्मिलित छनोट समितिले चलचित्रहरूको चयन गरेको हो ।

ग्लोबल पिस फिल्म फेस्टिभल, फ्लोरिडासँगको सहकार्यमा यस वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको ‘लिथियम राइजिङ: द रेस फर क्रिटिकल मिनिरल’ र निर्देशक ओल्ह बर्लान्दिनोको ‘द वार ट्रायल’ गरी दुई चलचित्र प्रदर्शन हुनेछन् । अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रशंसा बटुलेको सुबिना श्रेष्ठ निर्देशित वृत्तचित्र ‘देवी’ र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त निर्देशक फराह कस्सेम निर्देशित वृत्तचित्र ‘वि आर इनसाइड’ पनि महोत्सवका आकर्षण रहनेछन् । प्रिन्स जर्ज काउन्टीका स्थानीय निर्देशक चका बलामानीको चलचित्र ‘अ क्रिसमस बोनस’ लगायतका चलचित्रहरू डीएमभी-क्लोजअप अन्तर्गत प्रदर्शन हुनेछन् ।

महोत्सवमा प्रदर्शन गरिएका चलचित्रहरूमध्ये उत्कृष्टलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । पुरस्कारका लागि निर्णायक मण्डलको नाम केही दिनमै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

चलचित्र प्रदर्शनका अतिरिक्त, महोत्सव अवधिमा ‘चलचित्र र संस्कृति’ विषयक प्यानल छलफलका साथै चलचित्र निर्माणबारे ‘मास्टर क्लास’ पनि आयोजना गरिनेछ । म्यारिल्याण्ड राज्यको पार्क्स तथा योजना आयोगको सहयोगमा यी छलफलहरू हुनेछन् ।

महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले यस वर्ष पनि उत्कृष्ट चलचित्रहरू प्रदर्शन गर्न पाउँदा अत्यन्त खुसी व्यक्त गरेका छन् । उनले भने, “यी चलचित्रहरूले विभिन्न देशका मानव संस्कृति, सङ्घर्ष, सहअस्तित्व तथा खुसीका कथाहरूको प्रतिनिधित्व गर्दछन् । यो महोत्सव तपाई हामी सबैको हो ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu