
काठमाडौं – निर्माणाधीन नेपाली चलचित्र ‘मिरमिरे’मा लोकप्रिय गायक तथा अभिनेता प्रकाश सपूत अनुबन्धित भएका छन् । यसअघि नै भेट्रान अभिनेता दयाहाङ राई जोडिसकेको यो चलचित्रमा प्रकाशको प्रवेशले दर्शकमाझ उत्साह थपेको छ । यो चलचित्रमा प्रकाश र दयाहाङले पहिलो पटक सँगै काम गर्नेछन् ।
निर्देशक यम शेर्पाले ‘मिरमिरे’ ग्रामीण परिवेशको सामाजिक कथामा आधारित चलचित्र हुने बताएका छन् । शेर्पाकै लेखन र निर्देशनमा बन्न लागेको यो चलचित्र उनको दोस्रो निर्देशकीय प्रयास हो । यसअघि उनले ‘कार्साङ’ निर्देशन गरेका थिए ।
निर्देशक शेर्पाका अनुसार, ‘मिरमिरे’को कलाकार लाइनअप बलियो हुनेछ । केही कलाकारसँग सम्झौताको क्रम चलिरहेको र बजारले रुचाएका तथा अभिनयमा पकड भएका कलाकारहरूलाई प्राथमिकता दिइने उनले बताए । प्रकाश सपूतले ‘मिरमिरे’मा आफ्नो भूमिका विशेष र महत्त्वपूर्ण रहेको भन्दै यसले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे ।
यार्सा फिल्म्सको प्रस्तुतिमा बन्न लागेको ‘मिरमिरे’का निर्माताहरूमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा रहेका छन् भने गोविन्द बोहरा र ईश्वर श्रेष्ठ सह-निर्माता छन् । आरआर फिल्म्सका सञ्चालक तथा चलचित्र वितरक रोहित कट्टेल कार्यकारी निर्माताको रूपमा जोडिएका छन् ।