
काठमाडौं – भदौ १२ गते रिलिज हुने नेपाली चलचित्र ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा बढी देशमा एकैसाथ प्रदर्शन हुने भएको छ । ‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको यो चलचित्र सम्भवतः नेपाली डायस्पोरामा एकसाथ यति धेरै देशमा प्रदर्शन हुने पहिलो चलचित्र बन्नेछ । यो चलचित्र अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडा लगायत ४० भन्दा बढी देशमा प्रदर्शनको तयारी भइरहेको निर्माण पक्षले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यसको वितरणको जिम्मा प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले लिएको छ ।
सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले यो एक ऐतिहासिक क्षण भएको बताएका छन् । उनले भने, “नेपाली चलचित्रको डायस्पोरा इतिहासमा पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा राखेका छौँ ।”
नरदेवी फिल्मसको प्रस्तुति रहेको ‘कोशेढुंगा’ले मौलिक गाउँले परिवेशको कथा प्रस्तुत गर्नेछ । चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ । प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको यस चलचित्रमा दिनेश खड्का कार्यकारी निर्माता छन् । चलचित्रको छायाङ्कन बाबु श्रेष्ठले गरेका छन् भने सम्पादन नहकुल खड्काको रहेको छ ।