गीतकार टेक तामाङको एकल साङ्गीतिक साँझ सम्पन्न



काठमाडौं – गीतकार टेक तामाङको एकल साङ्गीतिक साँझ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सफलतापूर्वक सम्पन्न भएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा भएको ‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ मा श्रोताहरूको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला प्रमुख अतिथि तथा गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्वमा सम्पन्न भएको थियो । श्रोताको चाप यति धेरै थियो कि हलभित्र भीड व्यवस्थापन गर्न कठिन भएपछि हल बाहिर एलईडी स्क्रिन राखेर प्रत्यक्ष प्रसारण गरिएको थियो ।

साङ्गीतिक साँझमा डेढ दर्जन ख्यातिप्राप्त गायक-गायिकाले गीतकार तामाङका नयाँ तथा पुराना गरी १७ वटा लोकप्रिय गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गरेका थिए । किरण प्रधानले ‘नेपाल मेरो घर’, शिव परियारले ‘आमा’, डेबिट शङ्करले ‘स्वर्ग सुख’, रुपक चौधरीले ‘मीठा मीठा बोली’, सत्यराज आचार्यले ‘जित्नेहरूको पनि’, स्वरूपराज आचार्यले ‘आफ्नै धड्कन’, सङ्गीता राना प्रधानले ‘मन पर्छ’, प्रदीपराज पाण्डेले ‘अल्झिरह्यो याद’, कन्काइष्ट राईले ‘नजिक यति भएर पनि’ र ‘जन्मिखेली’ जस्ता गीतहरू गाएका थिए ।

त्यसै गरी, सञ्जय तुम्रोक र सुमिना लोले ‘तिमी सागर’, अन्जु पन्तले ‘तिमीलाई पराईको’ र ‘अँगालोमा बेरिरहूँ’, सञ्जय तुम्रोकले ‘मै खुकुरी’, रेश्मा बमजनले ‘माथि माथि लेकमा’, अस्मिता अधिकारीले ‘जोर मादलको तालैमा’, र प्रह्लाद तिमिल्सिना र सुमिना लोले ‘स्वर्ग झैँ सैलुङ’ प्रस्तुत गरेका थिए ।

सङ्गीतकार अशोक कुमार राईको सङ्गीत संयोजनमा २५ जनाको वृहत् वाद्यवादन समूहले प्रत्यक्ष रूपमा साथ दिएका थिए । यस समूहमा मनोहर सुनाम भ्वाइलिन संयोजक, शिला बहादुर मोक्तान किबोर्ड, र भरत बुढाथोकी तालवादन संयोजकका रूपमा रहेका थिए। वाद्यवादकहरूमा भ्वाइलिनतर्फ मोहनकृष्ण ढली, किशोर कार्की ढली, रविन कार्की ढली, नारायण कार्की ढली, रोमन बुढाथोकी, विकासनाथ योगी, बाँसुरीतर्फ गोपाल देव घतानी र धन बहादुर गुरुङ, तालबादनतर्फ कुमार महाराज, मेघराज लुङ्गेली, अनिल थापा, पोषण धर्ती, गिटारतर्फ देव राई, सञ्जीव लिम्बु, दीपेश श्रेष्ठ, सितारमा सिता मैया राहचल, सारङ्गीमा भरत नेपाली, प्याड ड्रमतर्फ भूपेन्द्र रसाइली र ब्रासतर्फ रुद्र परियार, पूर्ण नेपाली र तेज तामाङ लगायतका कलाकारहरूको सहभागिता थियो ।

गीतकार तामाङले गीतकार सङ्घ नेपाल र भीमबहादुर फूलमाया स्मृति पुस्तकालयको सहयोगार्थ आयोजित यो साङ्गीतिक साँझले सामाजिक सशक्तीकरण र सांस्कृतिक प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले २०५० सालदेखि औपचारिक रूपमा साङ्गीतिक यात्रामा लागेको भए पनि यो साङ्गीतिक साँझले पूर्णता दिएको बताए । उनले भने, “मेरो साङ्गीतिक साँझ मान्यजन, सङ्गीत प्रेमी शुभचिन्तकहरूको उपस्थितिले ऐतिहासिक बनेको महसुस गरेको छु ।”

प्रमुख अतिथि वैरागी काइँलाले गीतकार तामाङलाई शुभकामना दिँदै उनको साङ्गीतिक साँझ ऐतिहासिक बनेको बताए । उनले तामाङ सुरक्षा सेवामा पनि नेतृत्वदायी भूमिकामा रहेकाले उनका गीतहरूले मातृभूमिप्रतिको भाव बोकेको उल्लेख गरे । आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम व्यवस्थापन समितिका संयोजक वसन्त वित्यासी थापाले ‘स्रष्टाहरूको नैतिक, बौद्धिक र प्रतिलिपि अधिकार स्थापित गर्न, सर्जकलाई प्रोत्साहन एवं सम्मान गर्न निरन्तर क्रियाशील रहनुका साथै स्रष्टाहरूलाई ऊर्जा प्रदान दिन एकल एवं सामूहिक साँझ गर्दै आएको’ बताए ।

अतिरिक्त प्रहरी महानिरीक्षक समेत रहेका गीतकार टेक तामाङको यस साङ्गीतिक साँझमा राजनीतिक, साहित्यिक, साङ्गीतिक, न्यायिक, व्यावसायिक, शैक्षिक, प्रशासनिक, सुरक्षा निकाय लगायतका क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रममा तामाङका रचना ‘सोल्टिनी’ र ‘माथि माथि लेकमा’ को म्युजिक भिडियो पनि सार्वजनिक गरियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu