गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको संयुक्त सांगीतिक कार्यक्रम ‘सोलफुल यूएसए यात्रा’ घोषणा भएको छ । उक्त सांगीतिक टूर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरहरूमा आयोजना हुनेछ । मङ्गलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।

ओनेस्ट रियल इस्टेटद्वारा प्रस्तुत र थ्री ई इन्टरटेन्मेन्टद्वारा व्यवस्थापन गरिएको यो यात्रा कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एशबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनिया लगायत अमेरिकी सहरमा हुनेछ । महेश र अस्मिताको अमेरिकामा राम्रो डिमान्ड भएकाले पनि यो सांगीतिक यात्राको आयोजना गरिएको थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीले जानकारी गराए ।
महेश र अस्मिताले पनि आफूहरु यो सांगीतिक टूरका लागि निकै उत्साहित रहेको बताए । महेश र अस्मिताले सांगीतिक टूरमा आफ्ना चर्चित गीतहरु ‘लजावती झार’, ‘नाच फिरिरि’, ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरु गाउनेछन् ।




