
काठमाडौं – जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘मितज्यू’को रोचक ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनका बीच निर्माण टोलीले चलचित्रको आधिकारिक ट्रेलर दर्शकमाझ ल्याएको हो। सार्वजनिक ट्रेलरले नेपाली समाजबाट विस्तारै लोप हुँदै गएको परम्परागत ‘मितेरी साइनो’ र त्यसभित्र उब्जिने व्यावसायिक प्रतिस्पर्धा, स्वार्थ तथा द्वन्द्वको कथालाई निकै चाखलाग्दो ढङ्गले प्रस्तुत गरेको छ।
ट्रेलरमा चलचित्रका मुख्य अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ललाई गाउँमा भर्खरै खुलेको नयाँ बाटोमा गाडी चलाउने चालकका रूपमा प्रस्तुत गरिएको छ। कसले छिटो यात्रु गन्तव्यमा पुर्याउने भन्ने पेसागत प्रतिस्पर्धाका बीच उनीहरूले गाँसेको मितेरी साइनो र त्यसले निम्त्याउने उतारचढावलाई ट्रेलरमा स्पष्ट देख्न सकिन्छ। मितको घरमा जाँदा सौगातले भाले कोसेली लग्ने र मितिनीको भूमिकामा रहेकी तेरिया फौजा मगरले ‘भाले मात्रै किन, पोथी पनि ल्याउनुपर्थ्यो नि’ भन्दै गर्ने गाउँले ठट्टाले दर्शकलाई मनोरञ्जन दिन्छ। तर, हात हेर्ने ज्योतिषीले मितेरी साइनोलाई हल्का रूपमा नलिन दिएको चेतावनीसँगै सुरु हुने उनीहरूबीचको दुश्मनी, हानाहान र कलंकको आरोपले चलचित्रको कथा निकै गम्भीर र सस्पेन्स मोडमा पुग्ने संकेत गरेको छ।
अनिल बुढा मगरको निर्देशनमा तयार भएको यस विशुद्ध ग्रामीण परिवेशको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन्। चलचित्रमा दयाहाङ र सौगातका साथै नवअभिनेत्री तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, खड्गबहादुर पुन मगर (खबपु) लगायतका थुप्रै कलाकारहरूको अभिनय रहेको छ। यसै चलचित्रमार्फत ठुलो पर्दामा डेब्यु गरेकी तेरियाको उपस्थितिले दर्शकमा थप कौतूहलता जगाएको छ भने अभिनेत्री रुषा न्यौपानेलाई एउटा विशेष गीतमा आकर्षक नृत्यसहित देख्न सकिनेछ।
प्राविधिक रूपमा पनि अब्बल मानिएको यस चलचित्रमा शिशिर बिशंखेको छायांकन, लोकेश बज्राचार्यको सम्पादन र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ। गीतहरूमा श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लको सुमधुर स्वर सुन्न सकिन्छ। आगामी जेठ ८ गतेदेखि आरआर फिल्म्सले देशभर वितरण गर्न लागेको यस चलचित्रको डिजिटल अधिकार भने ओएसआर डिजिटलले लिएको छ। स्वदेशमा प्रदर्शन हुनुअगावै ‘मितज्यू’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार हङकङ, जापान, दक्षिण कोरिया, माल्टा, सिंगापुर र पोल्यान्ड गरी ६ वटा देशहरूमा बिक्री (सोल्ड आउट) भइसकेको निर्माण पक्षले जनाएको छ।





