हरिवंशको सटसँगै ‘चिरञ्जीवी भव’ को शुभमुहूर्त, ब्लकबस्टर ‘परान’ निर्देशकको नयाँ चलचित्र माघ १ मा आउने



काठमाडौं – गत वर्षको सर्वाधिक सफल तथा ब्लकबस्टर चलचित्र ‘परान’ का निर्देशक दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘चिरञ्जीवी भव’ को औपचारिक रूपमा शुभमुहूर्त सम्पन्न भएको छ। निर्माण टोलीले ललितपुरस्थित बंगलामुखी मन्दिरमा निर्देशक तथा प्रमुख कलाकारहरूको उपस्थितिमा स्क्रिप्ट पूजा गर्दै चलचित्रको शुभसाइत गरेको हो। यस चलचित्रलाई आगामी माघ १ गतेदेखि देशभर प्रदर्शनमा ल्याउने घोषणासमेत गरिएको छ।

शुभमुहूर्त कार्यक्रममा दिग्गज अभिनेता हरिवंश आचार्यले चलचित्रको पहिलो सट दिएका थिए। निर्माण पक्षका अनुसार उनको उक्त पहिलो सटले नै चलचित्रको नाम ‘चिरञ्जीवी भव’ राखिनुको पछाडिको अर्थ र सार्थकतालाई प्रस्ट पार्नेछ। कार्यक्रममा हरिवंशका साथै नवपुस्ताका कलाकारहरू आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी लगायतको उपस्थिति रहेको थियो। यस चलचित्रमा उनीहरूका अलावा प्रियंका कार्की, सुवर्ण थापा, कमलमणि नेपाल, सरोज अर्याल, हरिस निरौला (कक्रोज), सुमन कार्की र सुस्मिता कुँवर जस्ता चर्चित अनुहारहरूको मुख्य अभिनय रहनेछ।

लोकप्रिय कलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ को कथामा आधारित यस चलचित्रको पटकथा लेखन भने सविन अधिकारी र वसन्त न्यौपानेले गरेका हुन्। पूर्ण रूपमा सोसल ड्रामा जनरामा निर्माण हुन लागेको यस चलचित्रले विशेषगरी दुई फरक पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धको गहिराइलाई आफ्नो मुख्य विषयवस्तु बनाएको निर्माण पक्षले जनाएको छ। सफल निर्देशक र उत्कृष्ट कथाकारको सहकार्यले चलचित्रप्रति दर्शकको अपेक्षालाई अहिलेदेखि नै बढाएको छ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने यस चलचित्रको छायांकन आगामी जेठ १५ गतेदेखि सुरु हुने तय भएको छ। कुल ४५ दिनको सुटिङ सेड्युल राखिएको यस चलचित्रलाई धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न लोकेसनहरूमा दृश्य कैद गरिनेछ। चलचित्रमा उमेशकुमार बरालले निर्माताको भूमिका निर्वाह गरेका छन् भने गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा जोडिएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu