
काठमाडौं – खिल बहादुर गुरुङको निर्देशनमा निर्मित चलचित्र ‘रिमै’को टिजर सार्वजनिक भएको छ। करिब २ मिनेट लामो टिजर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति समेत एक हप्ता अगाडि सारेको छ। यसअघि भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘रिमै’ अब भदौ २० गतेबाट देशभर प्रदर्शनमा आउनेछ।
सार्वजनिक टिजरले चलचित्र एक रहस्यमय, रोमाञ्चक र भावनात्मक कथामा आधारित रहेको सङ्केत गरेको छ। टिजरमा ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदलाको संयोजन भएको कथावस्तु झल्किएको छ। दयाहाङ राईको गम्भीर, रिश्मा गुरुङको आत्मीय, अर्पण थापाको रहस्यमय र बुद्धि तामाङको गहन अभिनयले दर्शकको ध्यान खिच्ने देखिन्छ। विशेष गरी गुरुङ संस्कारलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको यस टिजरले दर्शकमाझ चलचित्रप्रति उत्साह जगाउने विश्वास निर्माण टोलीको छ।
गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्म्स् प्रा. लि. को प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रमा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, वीरमाया गुरुङ, बिरबल घले, डिबी गुरुङ, टेक गुरुङ लगायतका कलाकारहरूको साथमा बाल कलाकार असीम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको समेत अभिनय रहेको छ।
उपेन्द्र सुब्बाको लेखन रहेको ‘रिमै’लाई शैलेन्द्र ध्वज कार्कीले छायाङ्कन गरेका हुन्। बिरबल घले कार्यकारी निर्माता रहेको यस चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माताका रूपमा छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको भूमिकामा छन्।
चलचित्रमा दीपक शर्मा र थानेश्वर गौतमको सङ्गीत, किरण चाम्लिङ राईको मुख्य सहायक निर्देशन, विष्णु मैनालीको प्रोडक्सन व्यवस्थापन र मित्र डि गुरुङको सम्पादन रहेको छ।
टिजर:




