
काठमाडौं – नेपाली चलचित्र ‘परान’ को ट्रेलर सार्वजनिक भएको छ। आगामी कार्तिक १४ गते देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रको ट्रेलर बुधवार काठमाडौँको रञ्जना हलमा एक विशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको हो।
ट्रेलरले चलचित्रको मूल कथावस्तु नेपाली समाजको पारिवारिक सम्बन्धमा केन्द्रित रहेको स्पष्ट सङ्केत गर्दछ। विशेष गरी, जीवनको उत्तरार्धमा आफ्ना सन्तानको निकटता र स्नेहको खोजी गरिरहेका एक बुबाको भावनात्मक पीडा तथा संवेदनालाई फिल्मले गहिराइमा चित्रण गर्ने देखिन्छ।
बुढ्यौलीमा आमाबुबाले खोज्ने सन्तानको आडभरोसा र सन्तानले आफ्नो व्यक्तिगत आकाङ्क्षा र रोजाइलाई प्राथमिकता दिँदा परिवारमा उत्पन्न हुने मर्मस्पर्शी परिस्थितिलाई चलचित्रको कथानक बनाइएको छ।
नेपाली चलचित्रका ‘भीष्मपितामह’ को रूपमा परिचित वरिष्ठ अभिनेता नीर शाहले यस फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका छन्। लामो समयपछि शाहले मुख्य पात्रको रूपमा काम गरेकाले पनि ‘परान’ प्रति दर्शक तथा फिल्मवृत्तमा विशेष चासो र प्रतीक्षा बढेको छ।
फिल्मले पारिवारिक कथावस्तु बोकेका कारण मूलतः परिवारजनसहित हलसम्म पुग्ने दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। सोहीअनुरूप ट्रेलर पनि त्यस्तै वर्गका दर्शकलाई केन्द्रित गरेर तयार पारिएको छ।
‘परान’ मार्फत दीपकप्रसाद आचार्य (काकु) ले निर्देशनमा डेब्यु गरेका छन्। आचार्यकै कथामा बनेको यस फिल्मको पटकथा र संवाद लेखन भने यम थापाले गरेका हुन्। देशको प्रतिष्ठित व्यापारिक समूह गोल्छा समूह र प्रिज्मा समूहको संयुक्त लगानी तथा साझेदारीमा स्थापित ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले फिल्म निर्माण गरेको हो।
चलचित्रमा नीर शाहका साथै महेश त्रिपाठी, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारको सशक्त अभिनय रहेको छ।
ट्रेलर:





