
काठमाडौं – दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘क्याप्टेन साब’को सम्पूर्ण छायांकन कार्य सम्पन्न भएको छ। निर्माण पक्षले बुधबार यस चलचित्रको ‘इन्डक्ल्याप’ गर्दै सुटिङ सकिएको औपचारिक जानकारी गराएको हो। यो चलचित्र चर्चित पाइलट, सफल व्यवसायी तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाको जीवनकथा (बायोपिक) मा आधारित रहेर निर्माण गरिएको हो।
यस चलचित्रको दृश्य कैद गर्ने काम दुई फरक चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाटै प्रारम्भ गरिएको थियो भने दोस्रो चरणको सुटिङ करिब दुई साताअघि मात्र सुरु गरेर बिट मारिएको हो। सिनेमाका दृश्यहरूलाई जीवन्त बनाउन काभ्रे, काठमाडौं र वीरगन्जका विभिन्न आकर्षक लोकेसनहरूमा क्यामेरा रोल गरिएको निर्माण टोलीले जनाएको छ।

चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सन्जोग रसाइलीले मुख्य पात्रका रूपमा अभिनय गरेका छन्। यसअघि निर्देशक खनालकै सफल चलचित्र ‘धनपति’मा सँगै काम गरेका खगेन्द्र र सुरक्षाको जोडीले ‘क्याप्टेन साब’मार्फत दोस्रोपटक ठूलो पर्दामा सहकार्य गरेका हुन्। दीपेन्द्र र खगेन्द्रबीच भने नेपाली रजतपटमा निरन्तर रूपमा व्यावसायिक सहकार्य हुँदै आइरहेको छ।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमाको कथा तथा पटकथा निर्देशक दीपेन्द्र के खनाल आफैँले कोरेका हुन्। चलचित्रमा निर्देशक खनाल र करण श्रेष्ठले निर्माताको जिम्मेवारी सम्हालेका छन् भने सिर्जना नापित कार्यकारी निर्माताको रूपमा जोडिएकी छन्।


