दर्शकलाई विशेष राहत: विद्यार्थी र अभिभावकको आग्रहमा चलचित्र ‘रोल नं १’ को टिकटमा ५० प्रतिशत छुट



काठमाडौं – नेपाली चलचित्र ‘रोल नं १’ का दर्शकहरूले अब आधा मूल्यमै सिनेमा हेर्न पाउने भएका छन्। निर्माण पक्षले सम्पूर्ण दर्शक, विशेषगरी विद्यार्थी र अभिभावकहरूको विशेष आग्रहलाई मध्यनजर गर्दै टिकट मूल्यमा ५० प्रतिशतको भारी छुट दिने निर्णय गरेको छ। यो सहुलियतसँगै अब देशैभरका सहभागी सिनेमाघरहरूमा चलचित्र हेर्न जाने दर्शकले साबिकको मूल्यको ठिक आधा रकम मात्र तिरे पुग्नेछ।

यस नयाँ व्यवस्थाअनुसार, यदि कुनै हलको टिकट मूल्य ४०० रुपैयाँ छ भने दर्शकले अब २०० रुपैयाँमै सिनेमा हेर्न पाउनेछन्। त्यसैगरी, ३०० रुपैयाँ पर्ने टिकटको मूल्य १५० रुपैयाँ मात्र कायम हुनेछ। चलचित्रका निर्माता विनोद पौडेलले विद्यालय, विद्यार्थी र अभिभावकहरूबाट टिकटको मूल्य घटाउन आएको निरन्तरको अनुरोधलाई सम्बोधन गर्दै हरेक हलका सम्पूर्ण शोहरूमा यो ५० प्रतिशत छुटको व्यवस्था लागू भएको बताए।

वर्तमान शिक्षा प्रणाली, कलिला विद्यार्थीहरूको मनोविज्ञानमा पर्ने मानसिक दबाब, अभिभावकहरूको अनवरत सङ्घर्ष र जीवनका वास्तविक यथार्थलाई यस चलचित्रले उठान गरेको छ। समाजको यही संवेदनशील विषयलाई सबैको पहुँचमा पुर्‍याउने र सपरिवार सिनेमा हेर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले टिकटमा सहुलियत प्रदान गरिएको निर्माण पक्षको भनाइ छ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्देशन जौन योञ्जनले गरेका हुन् भने यसको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। चलचित्रमा निर्भिक रेग्मी, मुकुन भुसाल, सुशांक मैनाली, रेनुनाथ योगी र सिर्जना अधिकारीको मुख्य अभिनय रहेको छ। यसका साथै, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ जस्ता बालकलाकारहरूले पनि पर्दामा आफ्नो जीवन्त कला पस्किएका छन्।

चलचित्रका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह-निर्माता छत्रमाया गिरी र रमेश चौलागाईं हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu