प्रतीक्षित सिक्वेल ‘जारी २’को ट्रेलर सार्वजनिक, दयाहाङ–मिरुनाको सम्बन्धको नयाँ मोड



काठमाडौं – नेपाली चलचित्र बजारमा प्रतीक्षित मानिएको ‘जारी :२ सङ् अफ च्याब्रुङ’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तु, कलाकारहरूको अभिनय र समग्र प्रस्तुतिलाई अझै रोमाञ्चक र कौतुहलतापूर्ण ढङ्गले प्रस्तुत गरेको छ।

तीन मिनेट बाउन्न सेकेन्ड लामो यस ट्रेलरले ‘जारी’ को सफल विरासतलाई अगाडि बढाउँदै नयाँ मोडहरू समावेश गरेको सङ्केत दिएको छ। ट्रेलरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ वादकको विशेष भूमिकामा प्रस्तुत गरिएको छ।

पहिलो भागमा देखिएको दयाहाङ राई र मिरुना मगरको वैवाहिक सम्बन्धमा छोरीको जन्मपश्चात् आएको नयाँ फाटो र उतारचढावलाई यस चलचित्रको प्रमुख कथावस्तु बनाइएको ट्रेलरबाट प्रस्ट हुन्छ। प्रेम, धोका र मेलमिलापको यो कडीलाई ‘जारी २’ ले थप गहिराइमा पुर्‍याएको देखिन्छ।

दयाहाङ र मिरुनाका साथै अभिनेता विजय बरालको पाटोले चलचित्रमा ह्युमरको स्वाद थपेको छ, जसले दर्शकलाई फरक स्वाद पस्किने अपेक्षा गरिएको छ। विजयको वैवाहिक सेरोफेरोको कथाले मुख्य प्लटलाई रोचक ढङ्गले सघाएको बुझ्न सकिन्छ।

उपरोक्त कथावस्तु र प्रस्तुतिले गर्दा यो सिक्वेल दर्शकहरूका लागि सुरुचिपूर्ण हुने अनुमान गरिएको छ। चलचित्रको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन्। ‘जारी २’लाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले संयुक्त रूपमा निर्माण गरेका छन्।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर र विजय बरालको मुख्य भूमिका रहेको छ। यी बाहेक बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखु लगायतका दिग्गज कलाकारहरूको अभिनय रहेको छ।

‘जारी’ २०८० सालको ‘ब्लकबस्टर’ चलचित्र हो। ‘जारी २’ कार्तिक २१ गते देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुनेछ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu