
काठमाडौं – पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकारहरूको नाम र तस्बिर दुरुपयोग गरी सर्वसाधारणबाट पैसा असुल्ने गिरोह सक्रिय भएको पाइएको छ। ह्वाट्स एप र भाइबरजस्ता सामाजिक संवादका माध्यमहरू प्रयोग गरी कलाकारका नाममा आर्थिक माग गर्ने क्रम बढेपछि कलाकारहरूले आफैँ सार्वजनिक रूपमा सचेत रहन अपिल गरेका छन्।
यो ठगी प्रकरणमा अभिनेताहरू दयाहाङ राई, अनमोल केसी, धिरज मगर, आकाश श्रेष्ठ तथा अभिनेत्रीहरू केकी अधिकारी र स्वस्तिमा खड्काको पहिचान दुरुपयोग गरिएको छ। त्यस्तै, सङ्गीतकर्मी जोन राईको नाममा पनि नक्कली प्रोफाइल बनाएर ठगी गर्ने प्रयास भएको छ।
शुक्रवार राती सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अभिनेता अनमोल केसीले आफूले कसैलाई पनि फोन वा मेसेज गरेर पैसा नमागेको प्रस्ट पारेका छन्। ठगी गर्ने नियतले आएका मेसेजका स्क्रिन सटहरू साझा गर्दै उनले भनेका छन्, “यस्ता मेसेजहरूलाई बेवास्ता र ब्लक गर्नुहोस्, भ्रममा नपर्नुहोला।”
त्यस्तै, अभिनेता दयाहाङ राईले पनि आफ्ना शुभचिन्तकहरूलाई सचेत गराउँदै लेखेका छन्, “मेरो नाम प्रयोग गरेर पैसा मागिरहेको पाइएको छ, यो पूर्णतः स्क्याम (ठगी) हो। सबै इष्टमित्र र साथीभाइहरू सावधान रहनुहोला।”
डिजिटल ठगीका घटनाहरू बढ्दै गएपछि नेपाल प्रहरीको साइबर ब्युरोले पनि यसमा चासो देखाएको छ। ब्युरोले यस्ता घटनाबाट बच्न सर्वसाधारण स्वयम् सचेत हुनु नै प्रमुख उपाय रहेको बताएको छ। ब्युरोले यस्ता गतिविधिहरूलाई निगरानी गरिरहेको र पीडित पक्षबाट निवेदन प्राप्त हुनासाथ अनुसन्धान प्रक्रियालाई अघि बढाउने बताएको छ।





