एक्सन-ड्रामा ‘हन्टर’को छायाङ्कन सम्पन्न: सुदूरपश्चिमको मौलिक कथामा अरुण र गरिमाको अभिनय



काठमाडौं – मौलिक कथावस्तु र द्वन्द्व प्रधान विषयवस्तुमा आधारित नेपाली चलचित्र ‘हन्टर’को छायाङ्कन पूरा भएको छ। पश्चिम नेपालका विभिन्न रमणीय तथा दुर्गम स्थानहरूमा क्यामेरा घुमाउँदै निर्माण टोलीले ४५ दिनको कार्य तालिकाभित्र छायाङ्कनको काम सम्पन्न गरेको हो।

यस चलचित्रमार्फत निर्देशक जीवन सिंहले नेपाली रजतपटमा निर्देशनको यात्रा सुरु गरेका छन्। क्याच कक इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन र सम्पादनको जिम्मेवारी समेत निर्देशक सिंह आफैँले सम्हालेका छन्। सुदूरपश्चिमको सामाजिक परिवेश र त्यहाँका यथार्थपरक पात्रहरूबाट प्रभावित भएर यो चलचित्र तयार पारिएको निर्माण पक्षको दाबी छ। यद्यपि, चलचित्रलाई पूर्ण रूपमा व्यावसायिक र मनोरञ्जनात्मक बनाउन कथामा केही काल्पनिक पक्षहरू पनि मिश्रण गरिएको निर्देशक सिंहले बताए।

चलचित्रको मुख्य भूमिकामा पछिल्लो पुस्ताका व्यस्त अभिनेता अरुण क्षेत्री र अभिनेत्री गरिमा शर्मा देखिएका छन्। उनीहरूको साथमा पाका कलाकारहरू सरोज खनाल, रमेश बुढाथोकी र सुशील पोखरेलको सशक्त अभिनय रहेको छ। साथै प्रकाश साह, रुजा राउत, सुप्रज्ञा शर्मा, रोशनी दाहाल, सोनी लगुन र गीता अधिकारीले पनि चलचित्रमा विभिन्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

ट्राइडेन्ट कन्सेप्टसँगको सहकार्यमा निर्माण भएको ‘हन्टर’को प्रदर्शन मिति भने खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu