
काठमाडौं – फिल्म ‘घरज्वाइँ’मार्फत दर्शकको मन जित्न सफल निर्देशक अनिल बुढा मगरले आफ्नो नयाँ निर्देशकीय यात्रा सुरु गरेका छन्। वसन्त पञ्चमीको पावन अवसर पारेर निर्देशक मगरले आफ्नो दोस्रो चलचित्र ‘मितज्यू’को छायाङ्कन दाङबाट औपचारिक रूपमा शुभारम्भ गरेका हुन्। दाङस्थित धार्मिक पर्यटकीय स्थल अम्बिकेश्वरी मन्दिरमा शुक्रवार बिहान शुभ मुहूर्त गरिएसँगै फिल्मको छायाङ्कन कार्य अगाडि बढेको निर्माण पक्षले जानकारी दिएको छ।
सामाजिक विषयवस्तुलाई मौलिक ढङ्गले प्रस्तुत गर्न लागिएको यस चलचित्रको छायाङ्कन दाङ र रोल्पाका विभिन्न मनमोहक एवं ग्रामीण लोकेसनहरूमा गरिने निर्माता जनक घर्ती मगरले बताए। मन्दिरमा धार्मिक विधिअनुसार पूजाआजा गरी पहिलो सट खिचेर फिल्मको युनिट छायाङ्कनमा होमिएको हो। नेपाली समाजमा विद्यमान ‘मित’ लगाउने परम्परा र त्यसभित्रका मानवीय संवेदनामा आधारित रहने अनुमान गरिएको यस फिल्ममा नेपाली सिने जगत्का हस्तीहरूको बाक्लो उपस्थिति रहेको छ।
चलचित्रमा दयाहाङ राई र सौगात मल्लको मुख्य अभिनय रहनेछ भने उनीहरूलाई तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल र राज थापा लगायतका कलाकारहरूले साथ दिनेछन्। त्यसै गरी सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे लगायतको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ। ठुलो कलाकारको समूह र अनुभवी प्राविधिकहरूको टिम भएकाले फिल्मप्रति निर्माण पक्ष निकै आशावादी देखिएको छ। गणतन्त्र दिवसको अवसर पारेर आगामी जेठ १५ गतेलाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिसकिएको छ।






