
काठमाडौं – विश्व प्रसिद्ध बर्लिन् अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आगामी संस्करणमा नेपाली चलचित्र जगतका लागि एक ऐतिहासिक उपलब्धि हासिल भएको छ। नेपाली मौलिक सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका निर्देशक मीनबहादुर भाम यस वर्षको प्रतिष्ठित ‘बर्लिन् फिल्म फेस्टिभल’ (बर्लिनाले) मा निर्णायक (जुरी) सदस्यका रूपमा चयन भएका छन्। विश्वका प्रमुख ‘ए-लिस्टर’ फिल्म महोत्सवहरूमध्ये एक मानिने यस समारोहको जुरी सदस्यमा मनोनीत हुने भाम सम्भवतः पहिलो नेपाली फिल्मकर्मी हुन्।
फेस्टिभलको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको विवरण अनुसार, सन् २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यानलको नेतृत्व प्रख्यात जर्मन फिल्म निर्देशक विम वेन्डर्सले गर्नेछन्। सोही जुरी टोलीमा नेपालका भामसँगै विश्व सिनेमाका अन्य प्रभावशाली व्यक्तित्वहरू पनि अटाएका छन्। जसमा दक्षिण कोरियाकी अभिनेत्री बे डुना, भारतीय फिल्म अर्काइभिस्ट शिवेन्द्र सिंह डुंगरपुर, अमेरिकी निर्देशक रेनाल्डो मार्कस ग्रीन, जापानी निर्देशक हिकारी र पोल्याण्डकी प्रसिद्ध निर्माता इवा पुस्ज्चिन्स्का रहेका छन्।
नेपाली सिनेमाको शिल्प र कथा वाचनलाई वैश्विक मञ्चमा पुर्याउन निरन्तर प्रयत्नशील भामको यो उपस्थिति नेपालका लागि गौरवको विषय मात्र नभई नेपाली चलचित्रकर्मीको क्षमताको अन्तर्राष्ट्रिय मान्यता समेत हो। यसअघि पनि आफ्ना सिर्जनामार्फत विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारहरू हात पारिसकेका भामले अब विश्वभरबाट छानिएका उत्कृष्ट फिल्महरूको मूल्याङ्कन गर्ने महत्त्वपूर्ण जिम्मेवारी निभाउनेछन्।






