महेश र वर्षालाई लिएर चलचित्र ‘टिका’ निर्माण घोषणा



काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर महिलाको आत्मसम्मान, सङ्घर्ष र आत्मनिर्भरताको कथालाई पर्दामा उतार्ने लक्ष्यका साथ नयाँ नेपाली चलचित्र ‘टिका (Stateless Soul)’ निर्माणको औपचारिक घोषणा गरिएको छ। भविष्य खड्का फिल्मस् प्रालिको प्रस्तुति रहने यस चलचित्रलाई थर्ड आइ आर्ट्स प्रालिसँगको सहकार्यमा निर्माण गर्न लागिएको हो। नेपाली समाजमा महिलाहरूले आफ्नो अस्तित्व रक्षाका लागि गर्नुपर्ने दैनिक सङ्घर्षलाई मुख्य विषयवस्तु बनाइएको यस नारी प्रधान चलचित्रको निर्देशन शङ्कर कार्कीले गर्दैछन्।

आइतबार निर्माण घोषणासँगै चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा रातो रङ्गको गोलाकार पृष्ठभूमिभित्र सेतो अक्षरले ‘टिका’ लेखिएको छ। निर्माण पक्षका अनुसार, यो प्रतीकात्मक डिजाइनले चलचित्रमा प्रस्तुत हुने महिलाको सङ्घर्ष, पराक्रम र नैतिक शुद्धताको गहिरो सङ्केत गर्दछ।

व्यावसायिक रूपमा सफल चलचित्र ‘जेरी अन टप’की निर्मात्री भविष्य खड्काले यस चलचित्रको निर्माणको बागडोर सम्हालेकी छन्। चलचित्रको मुख्य भूमिकाका लागि प्रतिभाशाली कलाकारहरू महेश त्रिपाठी, ऋचा शर्मा, वर्षा सिवाकोटी र हास्य अभिनेता निर्मल शर्मा अनुबन्धित भइसकेका छन्। उनीहरूका साथमा बाल कलाकार आयुशी ढकालको पनि महत्त्वपूर्ण अभिनय रहनेछ। चलचित्रका कार्यकारी निर्माता तेजविक्रम केसीका अनुसार, बाँकी कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया यति बेला चलिरहेको छ।

चन्दन झा र निर्देशक कार्की स्वयंको कथामा आधारित यस चलचित्रको पटकथा रामकुमार श्रेष्ठले तयार पारेका हुन्। कार्यकारी निर्माता केसीले ‘टिका’ले दर्शकलाई भरपुर मनोरञ्जन दिनुका साथै समाजलाई सशक्त सन्देश समेत प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्। बलियो कथावस्तु, उत्कृष्ट अभिनय र कलात्मक प्रस्तुतिमार्फत दर्शकलाई एक नितान्त फरक अनुभव दिलाउने निर्माण टोलीको अठोट छ। सम्पूर्ण ‘कास्ट एन्ड क्रु’को अन्तिम टुङ्गो लागेपछि एक औपचारिक कार्यक्रमबीच चलचित्रको छायाङ्कन सुरु गरिने र सोही बखत प्रदर्शन मिति पनि तय गरिने जानकारी निर्माण पक्षले दिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu