
काठमाडौं – आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले यति बेला साङ्गीतिक बजार र सामाजिक सञ्जालमा राम्रो प्रभाव जमाएको छ। देशको सम्पूर्ण ध्यान निर्वाचन र मत परिणाममा केन्द्रित भइरहेको समयमा सार्वजनिक भए तापनि यस गीतले आफ्नो लोकप्रियताको रफ्तारलाई निरन्तर कायम राखेको छ।
सार्वजनिक भएको १३ दिनमै (दुई साता नपुग्दै) युट्युबमा २१ लाखभन्दा बढी पटक हेरिएको यस गीतमाथि दर्शकहरूले लाखौँ टिकटक भिडिओ बनाइसकेका छन्। साङ्गीतिक रूपमा मिलेको यस लोभलाग्दो सफलताले चलचित्रको व्यावसायिक व्यापारमा पनि सुखद नतिजा ल्याउने आकलन गरिएको छ। चुनावको मेसोमा गीत रिलिज गर्दा धेरैले समय उपयुक्त नभएको टिप्पणी गरे पनि आफूहरू गीत हिट हुनेमा पूर्ण विश्वस्त रहेको निर्देशक माइकल चन्द बताउँछन्। दर्शकको जनजिब्रोमा गीत झुन्डिएको र सामाजिक सञ्जालमा भाइरल भएको देख्दा निर्माण टोली निकै उत्साहित बनेको उनको भनाइ छ। यही उत्साहबिच छिट्टै नै चलचित्रको टिजर सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष जुटेको छ।
डा. डीआर उपाध्यायको शब्द रचना तथा बाबुल गिरीको सङ्गीत रहेको यस रोमान्टिक ट्रयाकमा बाबुल गिरी र रचना रिमालले स्वर दिएका छन्। गीतको म्युजिक भिडिओमा चलचित्रका मुख्य अभिनेता बिराज भट्ट र अभिनेत्री सुपुष्पा भट्टलाई निकै रोमान्टिक अन्दाजमा फिचरिङ गरिएको छ।
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा उपेन्द्र शाही र श्वेता बिमलीको लगानी रहेको छ। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको यस प्रोजेक्टका लाइन प्रोड्युसर राजेन्द्र आचार्य र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। चलचित्रमा बाबुल गिरीका साथै अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको सङ्गीत सुन्न सकिन्छ। निर्देशक माइकल चन्द स्वयंको कथा तथा पटकथा रहेको यस चलचित्रमा मानकृष्ण महर्जनको छायांकन (डीओपी), श्री श्रेष्ठको एक्सन निर्देशन, सियोन श्रेष्ठको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन रहेको छ।
त्यस्तै, ब्याकराउन्ड स्कोर काला चरणले तयार पारेका छन् भने नवराज शर्मा मुख्य सहायक निर्देशक हुन्। राजेन्द्र मोक्तानको कलर करेक्सन रहेको चलचित्रको टिजर र ट्रेलर साहिल खानले काटेका हुन्। अभिमन्यु निरवी र समय थपलियाले स्क्रिप्ट सल्लाहकारको भूमिका निर्वाह गरेका छन्।
‘पर्दा पछाडिको पर्दा’ भन्ने मूल थिम बोकेको यो चलचित्र पूर्णतया एक्सन, सस्पेन्स र प्रेमकथामा आधारित छ। चलचित्रमा बिराज र सुपुष्पाका अलावा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार र सुनिल थापा जस्ता चर्चित कलाकारहरूको प्रभावशाली अभिनय हेर्न पाइनेछ।


