
काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको विशेष अवसर पारेर नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादल’ (माई सेयर अफ स्काई) को औपचारिक प्रदर्शन मिति तय गरिएको छ। आगामी वर्षको जेठ १ गते (मे १५) देखि यो चलचित्र नेपालभरका सिनेमाघरमा आउनेछ। गौँथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनको संयुक्त निर्माण रहेको यस चलचित्रले द्रुत रूपमा परिवर्तन भइरहेको नेपाली समाजभित्र तीन पुस्ताले भोग्ने भावनात्मक उतारचढाव, पारिवारिक अपेक्षा, व्यक्तिगत आकाङ्क्षा र त्यागको कथालाई रोचक ढङ्गले पर्दामा उतारेको छ।
यस चलचित्रको सबैभन्दा सबल र विशेष पक्ष भनेको यसका लगभग सम्पूर्ण विधामा महिलाहरूको बलियो नेतृत्व रहनु हो। अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएकी सहारा शर्माको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा अभिनेत्री आँचल शर्माले ‘माइली’को रूपमा केन्द्रीय चरित्र निर्वाह गरेकी छन्। यसै चलचित्रमार्फत अनुभवी अभिनेत्री निशा शर्माले तीन दशकभन्दा लामो अन्तरालपछि रजतपटमा पुनरागमन गर्दैछिन् भने अभिनेत्री उषा रजक आँचलको दिदीको भूमिकामा देखिनेछिन्। चलचित्रमा भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरल प्रताप अधिकारी लगायतका कलाकारको पनि अभिनय रहेको छ। निर्देशक शर्मा यसअघि सन् २०१३ को ‘किम्फ’ महोत्सवमा ‘चेजिङ रेन्बोज’मार्फत फिक्सन फिचरतर्फ उद्घाटन गर्ने सबैभन्दा कान्छी महिला निर्देशक बनेर शीर्ष पुरस्कार जित्न सफल भएकी थिइन्।

प्रदर्शन अगावै ‘एक मुठ्ठी बादल’ले थुप्रै अन्तर्राष्ट्रिय ख्याति र उपलब्धि हासिल गरिसकेको छ। यो युरोपियन पोस्ट-प्रोडक्सन ग्रान्ट ‘ह्युबर्ट बल्स फन्ड’ प्राप्त गर्ने महिला निर्देशित पहिलो नेपाली चलचित्र बनेर इतिहास रच्न सफल भएको छ। निर्माता अभिमन्यु दीक्षितले सन् २०२१ मा भारतको एनएफडिसी फिल्म बजारमा ‘रोटरेड्याम ल्याब अवार्ड’ जितेका थिए। यसका साथै फ्रान्सको कान फिल्म फेस्टिभलको मार्चे डु फिल्म, स्विट्जरल्याण्डको लोकार्नो ओपन डोर्स र बङ्गलादेशको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याब जस्ता विश्वका प्रतिष्ठित मञ्चहरूमा यसले आफ्नो बलियो उपस्थिति जनाइसकेको छ। चलचित्रको कार्यकारी निर्मातामा निकुन श्रेष्ठ रहेका छन् भने निर्माण टोलीमा आफ्नो कम्पनी ‘थर्ड कल्चर किड्स’मार्फत अन्तर्राष्ट्रिय चलचित्रमा सहयोग गर्दै आएकी जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल आबद्ध छन्।
चलचित्रको प्राविधिक पक्षमा अन्तर्राष्ट्रिय स्तरका प्रख्यात महिला प्राविधिकहरूको समेत उल्लेखनीय जमघट रहेको छ। भियतनामकी पहिलो महिला फिचर फिल्म छायाकार लिन्ह डान गुयेन फानले यसको छायांकन गरेकी हुन्। त्यसै गरी, कान फेस्टिभलमा ग्रान्ड प्रिक्स विजेता ‘अल वि इम्याजिन एज लाइट’मा काम गरेकी भारतकी यशस्वी सभरवालले प्रडक्सन डिजाइन सम्हालेकी छन् भने ‘तारे जमिन पर’ जस्तो चर्चित चलचित्रकी ख्यातिप्राप्त सम्पादक दीपा भाटियाले यसको सम्पादन गरेकी हुन्। थाइल्यान्डको ‘ह्वाइट लाइट’ले कलर ग्रेडिङ गरेको यस चलचित्रका स्वदेशी प्राविधिक विधामा पनि अग्रणी ठकुरी झा (कला), जानकी कडायत (भेसभुसा) र कीर्ति जोशी (मेकअप) जस्ता महिलाहरूकै वर्चस्व छ। ‘ची मुसी ची’की निर्देशक मर्णा जेम्स मुख्य सहायक निर्देशक रहेको यस परियोजनामा शर्मिला आले र मिरा खड्काले उनलाई सघाएका छन्।


