काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर नेपाली चलचित्र ‘परालको आगो’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। सम्पूर्ण नारीहरूप्रति समर्पित गर्दै निर्माण पक्षले बाहिर ल्याएको यस कलात्मक पोस्टरले दर्शकमाझ चलचित्रप्रतिको कौतूहल थप बढाएको छ। यसै सन्दर्भमा निर्माण टोलीले चलचित्रको टिजर भोलि बिहान ठिक ११ बजेर २५ मिनेटमा रिलिज गरिने जानकारी गराएको छ।

सार्वजनिक पोस्टरमा ग्रामीण परिवेश र नेपाली गाउँघरको मौलिकतालाई निकै गहिरो ढङ्गले प्रस्तुत गरिएको छ। सुनौलो घामको किरणले चुमेको खेतबारीको बिचमा डोकोमा अडेस लागेर बसेकी अभिनेत्री सुहाना थापाको भावपूर्ण मुद्राले दृश्यलाई अत्यन्तै जीवन्त बनाएको छ। उनको अनुहारमा झल्किएको शान्त भाव र गहिरो संवेदनाले कुनै एक महिलाको भित्री कथा र सङ्घर्षको सूक्ष्म चित्रण गरेको भान हुन्छ। प्रकृतिको न्यानो उज्यालो र शान्त रङ्ग संयोजनले सजिएको यस पोस्टरले समग्रमा नारीको सौन्दर्य, संवेदना र जीवन सङ्घर्षलाई एउटै फ्रेममा समेट्दै चलचित्रको भावनात्मक गहिराइलाई सङ्केत गरेको छ।
गाउँले परिवेश, पारिवारिक सम्बन्ध तथा समाजभित्र लुकेका मनोवैज्ञानिक एवं भावनात्मक उतारचढावलाई मुख्य विषयवस्तु बनाइएको यस चलचित्रमा सुहाना थापासँगै सौगात मल्ल र प्रकाश सपुतको मुख्य भूमिका रहेको छ। लक्ष्मण सुनारको निर्देशनमा तयार भएको यस फिल्ममा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी र रेणु न्यौपाने जस्ता कलाकारहरूको अभिनय देख्न सकिन्छ। साथमा बाल कलाकार मन्जिला बानियाँले पनि यसमा अभिनय गरेकी छन्।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रलाई सुशील पोखरेलले निर्माण गरेका हुन् भने लेखन सुशील देवकोटाको रहेको छ। चलचित्रका सह–निर्माताहरूमा सुलभी पोखरेल र सत्यम पोखरेल रहेका छन्।


