
काठमाडौं – नेपाली रजतपटमा अभिनेता पल शाहले बक्स अफिसमा नयाँ व्यावसायिक सफलता हात पारेका छन्। चलचित्र विकास बोर्डको पछिल्लो तथ्याङ्क अनुसार, उनको अभिनीत पछिल्लो चलचित्र ‘आ बाट आमा’ ले सात वर्षअघिको उनको आफ्नै सर्वाधिक कमाइ गर्ने चलचित्र ‘शत्रु गते’ को कीर्तिमानलाई उछिनेको छ। वि.सं. २०७४ मा प्रदर्शनमा आएर बक्स अफिसमा तहल्का मच्चाएको ‘शत्रु गते’ ले कुल १२ करोड ६५ लाख रुपैयाँ सङ्कलन गर्दै पलको करिअरकै सबैभन्दा सफल चलचित्रको पहिचान बनाएको थियो, जसलाई अब उनको नयाँ चलचित्रले विस्थापित गरेको छ।
बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार फागुन २३ गते शनिवारसम्मको आँकडा हेर्दा ‘आ बाट आमा’ ले १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। यस अवधिमा हलहरूबाट चलचित्रका ४ लाख ८२ हजार ६४७ वटा टिकट बिक्री भएका छन्। यस सानदार व्यापारसँगै यो चलचित्र ‘जेरी अन टप’ को कमाइलाई पछि पार्दै चालु वर्षकै सर्वाधिक कमाइ गर्ने दोस्रो ठुलो चलचित्र बन्न सफल भएको छ।

एकातिर पल शाहको चलचित्रले बक्स अफिसमा आक्रामक व्यापार गरिरहँदा विकास बोर्डले नै व्यापारिक आँकडा सार्वजनिक गरेका अन्य तीन चलचित्रको अवस्था भने कमजोर देखिएको छ। ‘कुमारी’, ‘रमिताको पिरती’ र ‘प्रवासी जीवन’ मध्ये कुनैले पनि एक करोडको व्यापारिक आँकडा छुन सकेका छैनन्। २० हजार २२७ थान टिकट बिक्री गर्न सफल ‘कुमारी’ ले ६५ लाख रुपैयाँ ग्रस कमाएको छ भने ‘रमिताको पिरती’ ले शनिवारसम्म जम्मा ३० लाख १३ हजार रुपैयाँमै चित्त बुझाउनुपरेको छ।
बक्स अफिस रिपोर्टमा सबैभन्दा निराशाजनक र दयनीय अवस्था भने दिग्गज अभिनेता राजेश हमाल अभिनीत चलचित्र ‘प्रवासी जीवन’ को देखिएको छ। प्रदर्शनको ९ दिन बितिसक्दा देशभरबाट यस चलचित्रका मात्र ५०१ वटा टिकट बिक्री भएका छन्, जसबाट जम्मा १ लाख ३८ हजार ४८० रुपैयाँ सङ्कलन भएको छ।


