
काठमाडौं – गुरुप्रसाद मैनालीको कालजयी कथामा आधारित चलचित्र ‘परालको आगो’को अफिसियल टिजर सार्वजनिक भएको छ। निर्माता सुशील पोखरेलको यस चलचित्रको झलकलाई निर्माण पक्षले ओएसआर युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याएको हो। टिजरले मुख्य गरी दाम्पत्य जीवनभित्रको मनमुटाब र नेपाली ग्रामीण समाजको यथार्थ चित्रणलाई पर्दामा उतार्ने प्रयास गरेको छ।
सार्वजनिक टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री सुहाना थापालाई पति-पत्नीको भूमिकामा प्रस्तुत गरिएको छ। पत्नी पँधेरोबाट पानी लिएर फर्कन ढिला भएको निहुँमा पतिले हातपात गरेको दृश्य टिजरमा समावेश छ। उक्त विवादलाई साम्य पार्न छिमेकीको भूमिकामा रहेका अभिनेता सौगात मल्ल र उनकी पत्नी पुग्दा, ‘लोग्नेस्वास्नीको झगडामा अरू नपरेकै राम्रो’ भन्ने परम्परागत सामाजिक मनोविज्ञानलाई प्रकाश सपुतको संवादमार्फत देखाइएको छ। पहाडी परिवेश, परम्परागत डोको–नाम्लो र गाउँले रहनसहनले चलचित्रलाई पूर्ण रूपमा मौलिक बनाएको आभास हुन्छ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर हिजो मात्रै गाउँले परिवेश झल्काउने पोस्टर सार्वजनिक गरेको निर्माण टोलीले आज टिजर ल्याएको हो। हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुहाना, प्रकाश र सौगातका अलावा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बालकलाकार मन्जिला बानियाँको अभिनय रहेको छ। लक्ष्मण सुनारको निर्देशन रहेको यस सिनेमाको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन्।
स्मरणीय छ, गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित यसै कथामा आधारित रहेर ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि ‘परालको आगो’ निर्माण गरेका थिए। निर्माता सुशील पोखरेलका अनुसार पुरानो कथाको मूल मर्म र आत्मालाई जीवित राख्दै आधुनिक र उत्कृष्ट प्रविधिमा यसको पुनर्निर्माण गरिएको हो। नेपाली मौलिकता बोकेको यो चलचित्र आगामी वैशाख ११ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने तयारीमा छ।


