प्रतिशोधको कथा बोल्ने चलचित्र ‘मुक्तिपुर’को मुहूर्त, मङ्गलवारबाटै छायाङ्कन सुरु



काठमाडौं – ‘क्राइम-रिभेन्ज’को विषयवस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘मुक्तिपुर’ निर्माण हुने भएको छ। काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा मङ्गलवार चलचित्रको स्क्रिप्ट र क्ल्याप पूजा गर्दै शुभ मुहूर्त गरिएको हो। निर्माण टोली, कलाकार र प्राविधिकहरूको उपस्थितिमा गणेश मन्दिरमा कार्य सफलताको कामना गरे लगत्तै यस चलचित्रको छायाङ्कन समेत आरम्भ गरिएको छ।

साहिबा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा एभरेस्ट फिल्म एकेडेमीले सहकार्य गरेको छ। विगत १० वर्षदेखि चलचित्र सम्बन्धी अभिनय, निर्देशन, छायाङ्कन लगायतका विविध विधामा शिक्षा प्रदान गर्दै आएको एभरेस्ट एकेडेमीको यो पहिलो औपचारिक निर्माण प्रयास हो। चलचित्रको निर्देशन युवा निर्देशक सुनिल पाण्डेले गर्दैछन्। विभिन्न छोटा चलचित्र र वृत्तचित्र निर्देशनमा अनुभव बटुलिसकेका पाण्डेको यो ठुलो पर्दाको पहिलो निर्देशन रहनेछ भने चलचित्रको कथा पनि उनी स्वयंले नै तयार पारेका हुन्। निर्देशक पाण्डेका अनुसार, यो चलचित्रले एक पारिवारिक पात्रको जीवनमा घट्ने गम्भीर घटना, त्यसले निम्त्याउने परिस्थिति र त्यसपछिको सङ्घर्ष एवं सफलताको कथालाई पर्दामा उतार्नेछ।

चलचित्रमा गौरव पहारी, प्रकाश शाह, नाजिर हुसेन र यवनराज उप्रेती मुख्य भूमिकामा देखिनेछन्। यसै चलचित्रमार्फत म्युजिक भिडियोमा अनुभव सँगालिसकेकी मोडल आकृति बुढाथोकीले नायिकाको रूपमा रजतपटमा डेब्यु गर्दैछिन्। चलचित्रमा विजय राजवंशी र रोशन पासवानको निर्माण, विशाल श्रेष्ठको कार्यकारी निर्माण र केशव गौतमको सह-निर्माण रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu