निर शाहको निर्देशकीय पुनरागमन: मनोवैज्ञानिक चलचित्र ‘कमला मिस’को छायाङ्कन सम्पन्न



काठमाडौं – नेपाली रजतपटमा करिब एक दशकपछि निर्देशकको रूपमा कमब्याक गरेका वरिष्ठ कलाकर्मी निर शाह निर्देशित चलचित्र ‘कमला मिस’को सम्पूर्ण छायाङ्कन कार्य सम्पन्न भएको छ।

गत फागुन १ गतेदेखि क्यामेरा अन गरिएको यस चलचित्रको सुटिङ मङ्गलवार प्याकअप भएको निर्माण पक्षले जनाएको छ। चलचित्रका लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) का अनुसार बीचमा चुनावको कारण तीन दिन काम रोक्नुपरे तापनि निर्माण टोलीले पूर्व निर्धारित तालिका अनुरूप करिब २३ दिनमै छायाङ्कन पूरा गरेको हो।

विजय मल्लको मनोवैज्ञानिक कथावस्तुमा आधारित यस चलचित्रमा निर्देशक शाह स्वयंका साथै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडा लगायतका कलाकारहरूको मुख्य अभिनय देख्न सकिनेछ। चलचित्रको पटकथा तथा संवाद निर्माणमा निर्देशक शाह र प्रजल दुलालले संयुक्त रूपमा कलम चलाएका छन्।

विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुति रहेको यस चलचित्रलाई उमा मल्लले निर्माण गरेकी हुन्। यसका कार्यकारी निर्मातामा उमेश मल्ल र चैतन्य प्रधान रहेका छन्। चलचित्रलाई शिवराम श्रेष्ठले लेन्समा कैद गरेका हुन् भने यसमा युग भुसालको सङ्गीत र रामजी लामिछानेको कोरियोग्राफी समावेश छ। यसै गरी, भोला सुवेदीले निर्माण व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् भने मुख्य सहायक निर्देशकको भूमिकामा सागर बोहरा रहेका छन्।

लामो समयदेखि नेपाली चलचित्र उद्योगमा अनवरत रूपमा समर्पित शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतो बाघ’ जस्ता कालजयी तथा ऐतिहासिक चलचित्रहरू नेपाली दर्शकमाझ पस्किसकेका छन्। लामो अन्तरालपछिको उनको यो निर्देशकीय पुनरागमनलाई सिने वृत्तमा निकै चासो र प्रतीक्षाका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu