
काठमाडौं – यम थापा निर्देशित नेपाली चलचित्र ‘लालीबजार’ले आफ्नो साङ्गीतिक प्रवर्द्धन सुरु गरेको छ। निर्माण पक्षले चलचित्रको पहिलो प्रस्तुतिका रूपमा लोकलयमा सजिएको ‘मायालाई के दिऊँ म बैना’ बोलको गीत दर्शकमाझ पस्किएको हो। प्रेमीले प्रेमिकालाई दिने मायाको चिनोलाई मुख्य विषयवस्तु बनाइएको यस गीतमा शब्द शिल्पी रमेश बिजीका शब्द रहेका छन्। गीतमा खेम सेन्चुरी र दीपिका बयम्बु मगरको सुमधुर स्वर सुन्न सकिन्छ भने सङ्गीत सिर्जना स्वयम् गायक सेन्चुरीले नै गरेका हुन्।
सार्वजनिक भिडियो निकै तामझामपूर्ण र आकर्षक बनेको छ। भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का, कोरियोग्राफर प्रदीप लामा र बाल कलाकार समाइरा थापाको उत्कृष्ट नृत्य प्रस्तुत गरिएको छ। प्रदीप लामाकै कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई भव्य बनाउन सेट डिजाइन, प्रप्स र ठुलो सङ्ख्यामा कोरस प्रयोग गरी निर्माण पक्षले मनग्य लगानी गरेको दृश्यमा प्रस्ट देखिन्छ। यसका साथै, भिडियोमा फिल्मका मुख्य अनुहारहरू रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ र विशाल देवकोटालाई पनि पर्दामा अटाएको छ।
नयाँ वर्षको छेको पारेर आगामी वैशाख १८ गतेलाई प्रदर्शन मिति तय गरेको यस चलचित्रबाट विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली रजतपटमा आफ्नो अभिनय यात्रा (डेब्यु) थाल्दैछन्। फिल्ममा अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी र सरस्वती अधिकारी लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ। निर्देशक थापाकै मौलिक कथामा आधारित यस फिल्मको पटकथा र संवाद लेखनमा भने उनलाई प्रदीप भट्टराईले साथ दिएका छन्।
सफल चलचित्रहरू निर्माण गर्दै आएको ‘षट्कोण आर्ट्स’को ब्यानरमा निर्माण भएको ‘लालीबजार’लाई सुशन प्रजापतिले क्यामेरामा कैद गरेका हुन् भने दृश्य सम्पादनको जिम्मेवारी मित्रदेव गुरुङले सम्हालेका छन्। चलचित्रमा रोहित शाक्य र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत (ब्याकग्राउन्ड स्कोर) रहेको छ भने समग्र फिल्मका गीतहरूमा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइबाको सङ्गीत सुन्न पाइनेछ। म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले निर्माण गरेको यस फिल्मको कार्यकारी निर्माताका रूपमा प्रदीप भट्टराई रहेका छन्।
गीत:


