झापाको काँकडभिट्टाबाट सुरु भयो ‘पाँच पाण्डव’को यात्रा, कस्तो बन्दैछ फिल्म ?



काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एउटा ठुलो स्टारकास्ट र महत्त्वाकाङ्क्षी योजनासहित निर्माण हुन लागेको चलचित्र ‘पाँच पाण्डव’को छायाङ्कन औपचारिक रूपमा सुरु भएको छ। सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा क्यामेरा पूजा र शुभ–मुहूर्त गर्दै निर्माण टोलीले छायाङ्कनको श्रीगणेश गरेको हो। काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई लिएर यति बेला सिने वृत्तमा निकै उत्साह देखिएको छ, किनकि यसमा नेपाली पर्दाका स्थापित र लोकप्रिय अनुहारहरूको एउटै पर्दामा जम्बो उपस्थिति रहनेछ।

शीर्षकले पौराणिक कथाको झल्को दिए तापनि यो चलचित्र कुनै धार्मिक वा पौराणिक कथामा आधारित भने होइन। यो पूर्ण रूपमा समकालीन समाजको कथा भन्ने ‘सोसल ड्रामा’ हो। महाभारतका पाँच पाण्डवको बिम्बलाई प्रयोग गर्दै निर्देशक वसन्त निरौलाले वर्तमान सामाजिक परिवेश र मानवीय संवेदनालाई पर्दामा उतार्ने प्रयास गरेका छन्। चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) ले मुख्य भूमिका निर्वाह गर्दैछन्। यी पाँच पात्र नै चलचित्रको मुख्य आधार स्तम्भ हुन् भने उनीहरूसँगै दीपाश्री निरौला र जनी गुरुङको सशक्त अभिनय रहने निर्माण पक्षले जनाएको छ।

चलचित्रको कथावस्तुलाई सशक्त बनाउन निर्देशक निरौलाले ‘प्रसाद’ जस्तो सफल र प्रशंसित चलचित्रका लेखक सुशील पौडेललाई भित्र्याएका छन्। पौडेलले तयार पारेको पटकथा र संवादमा आधारित यस फिल्मले दर्शकलाई मनोरञ्जनका साथै गहिरो सामाजिक सन्देश दिने अपेक्षा गरिएको छ। प्रस्तुत कर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठले चलचित्रको मेकिङमा कुनै कसर बाँकी नराख्ने बताएका छन्। हरिवंश आचार्य जस्ता दिग्गज कलाकारको उपस्थितिले चलचित्रको क्यानभास ठुलो बनेको र प्रविधिदेखि कलाकारको व्यवस्थापनसम्म उच्च बजेट खर्चिन लागिएको उनीहरूको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu