दाजुभाइको प्रेम र अंशबन्डाको द्वन्द्व: सार्वजनिक भयो ‘हामी तीन भाइ’को मर्मस्पर्शी ट्रेलर



काठमाडौं । पारिवारिक सम्बन्ध, भ्रातृत्व र सामाजिक यथार्थलाई पर्दामा उतार्न सिपालु निर्देशक मधुसूदन भट्टराईको नयाँ चलचित्र ‘हामी तीन भाइ’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। चैत १३ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रको ट्रेलरले ग्रामीण परिवेशमा हुर्किएका तीन दाजुभाइको अटुट सम्बन्ध र समयक्रममा आउने उतारचढावलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।

चलचित्रको मूल कथावस्तु विनोद न्यौपाने, कुशल बिस्ट र फलित राईले निर्वाह गरेको तीन दाजुभाइको भूमिकामा केन्द्रित छ। स्वर्गीय मातापिताको अन्तिम इच्छाअनुसार सधैँ मिलेर बस्ने कसम खाएका यी भाइहरूबिचको आत्मीयता लोभलाग्दो देखिन्छ। तर, जीवनको यात्रामा जब दुई भाइहरूको विवाह हुन्छ, तब उनीहरूको सुखद संसारमा कलहको प्रवेश हुन्छ। पुर्ख्यौली सम्पत्ति र अंशबन्डाको विषयले दाजुभाइको पवित्र सम्बन्धमा कसरी दरार ल्याउँछ भन्ने पक्षलाई ट्रेलरमा प्रस्ट्याइएको छ।

ट्रेलरमा कलाकार राजाराम पौडेललाई ‘नक्कली बुबा’को रोचक भूमिकामा देखाइएको छ, जसले चलचित्रमा कमेडीको रङ्ग थपेको छ। विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिस्ट, जाह्नवी बस्नेत, आश्मा गिरी र रवीन्द्र झा लगायतका कलाकारहरूको जीवन्त अभिनयले चलचित्रलाई थप सशक्त बनाएको छ। हास्य र गम्भीर सामाजिक विषयवस्तुको सम्मिश्रण रहेको यो चलचित्रमा विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईँ, शुष्मा निरौला र यादव देवकोटा (सरापे) जस्ता परिचित अनुहारहरूको समेत अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu