आँचललाई जन्मदिनको उपहार: ‘एक मुठी बादल’को टिजर सार्वजनिक



काठमाडौं – अभिनेत्री आँचल शर्माको जन्मदिनको विशेष अवसर पारेर नेपाली चलचित्र ‘एक मुठी बादल: माई सेयर अफ स्काई’ को टिजर दर्शकमाझ ल्याइएको छ। निर्माण पक्षले शर्मालाई जन्मदिनको सरप्राइज उपहारस्वरूप यो पहिलो झलक सार्वजनिक गरेको हो। आँचलकै स्वरमा वाचन गरिएको ‘पोम्पोईको फूल’ शीर्षकको कविताबाट सुरु हुने यस टिजरले चलचित्रका प्रमुख पात्रहरूसँग दर्शकलाई परिचयात्मक साक्षात्कार गराउँछ।

टिजरमा प्रयोग भएको उक्त कविता चलचित्रकी लेखक तथा निर्देशक सहारा शर्माको बाल्यकालको धमिलो स्मृतिबाट उब्जिएको हो। हजुरआमाको मुखबाट सुनेका यस्तै लय र भावका कविताहरू लगभग बिर्सिसकेकी निर्देशक शर्मालाई चलचित्र सम्पादनको चरणमा अचानक ती शब्दहरू याद आएका थिए। ठिक त्यही समयमा चलचित्रलाई एउटा बलियो भावनात्मक सहारा चाहिएको थियो, र अन्ततः त्यही कविता चलचित्रको प्राण र अभिन्न हिस्सा बन्न पुगेको निर्देशक शर्माले खुलाएकी छन्।

आफ्नो जन्मदिनकै दिन चलचित्रको पहिलो झलक बाहिरिनुलाई अभिनेत्री आँचलले एउटा सुन्दर संयोग मानेकी छन्। उनले ‘एक मुठी बादल’लाई आफ्नो अभिनय यात्राकै नितान्त विशेष प्रोजेक्टको रूपमा लिएकी छन्। अन्य चलचित्रहरूमा आफूले कुनै बाहिरी चरित्र बाँचेको भए पनि यस चलचित्रकी पात्र ‘माइली’ भने आफ्नै प्रतिबिम्ब भएको उनको दाबी छ। आफ्नै भोगाइ र जीवनलाई ठुलो पर्दामा प्रस्तुत गर्न पाउँदाको सन्तुष्टि शब्दमा व्यक्त गर्न नसकिने उनले बताएकी छन्।

यस चलचित्रमा आँचल शर्माका साथमा निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारी लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।

निर्माणका अधिकांश महत्त्वपूर्ण विधामा महिलाहरूको नेतृत्व रहनु यस चलचित्रको अर्को विशिष्ट पक्ष हो। लिन्ह डान गुयेन फानले क्यामेरा चलाएको यस प्रोजेक्टमा यशस्वी सभरवालको प्रडक्सन डिजाइन, अग्रणी ठकुरी झाको कला निर्देशन, जानकी कडायतको भेसभुसा र कीर्ति जोशीको मेकअप रहेको छ। त्यसै गरी, प्रमुख सहायक निर्देशकको जिम्मेवारी मर्णा जेम्सले सम्हालेकी छन् भने उनलाई सहायकका रूपमा शर्मिला आले र मीरा खड्काले साथ दिएका छन्। चलचित्रको सम्पादनको जिम्मा भने गौरव मल्लिकले सम्हालेका छन्।

गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा निकुन श्रेष्ठ रहेका छन्। निर्माताको टोलीमा जर्मन फिल्ममेकर सारा फाजिलातका साथै सामीप्य राज तिमल्सेना र अनुप पौडेल समेत जोडिएका छन्।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu