‘१२ गाउँ’पछि ‘राम नाम सत्य’ लिएर हलमा फर्किए बिराज भट्ट



काठमाडौं – एक्सन स्टार बिराज भट्ट करिब डेढ वर्षको अन्तरालपछि नयाँ चलचित्रका साथ दर्शकमाझ फर्किएका छन्। शुक्रवारबाट देशभरका सिनेमाघरमा उनको मुख्य भूमिका रहेको चलचित्र ‘राम नाम सत्य’ प्रदर्शनमा आएको छ। वि.सं. २०८१ सालमा आफैँले निर्देशन तथा अभिनय गरेको ब्लकबस्टर चलचित्र ‘१२ गाउँ’ पछि उनी पहिलो पटक यसै चलचित्रमार्फत ठुलो पर्दामा देखिएका हुन्।

स्मरण रहोस्, ‘१२ गाउँ’ ले नेपाली बक्स अफिसमा ‘छक्का पन्जा ५’ जस्तो स्थापित ब्रान्डसँगको कडा प्रतिस्पर्धाका बाबजुद झन्डै २० करोड रुपैयाँको सानदार व्यापार गर्दै नेपाली एक्सन चलचित्रको इतिहासमै सर्वाधिक कमाउने रेकर्ड बनाएको थियो। डेढ वर्षपछि ‘राम नाम सत्य’ मार्फत हलमा ओर्लिएका बिराजका लागि आफ्नै अघिल्लो चलचित्रले खडा गरेको त्यही सफलताको विशाल विरासत जोगाउनुपर्ने ठुलो चुनौती र दबाब छ।

यस पटक बक्स अफिसमा कुनै ठुलो प्रतिस्पर्धी नभएका कारण ‘राम नाम सत्य’ ले एकल प्रदर्शनको सुनौलो अवसर पाएको छ। सोही अनुरूप देशभरका मल्टिप्लेक्स तथा सिंगल स्क्रिनहरूले यसलाई करिब १८० शो उपलब्ध गराएका छन्। माइकल चन्दको निर्देशकीय कमान्डमा तयार भएको यस चलचित्रमा बिराज भट्टका अलावा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनिल थापा, प्रशान्त ताम्राकार, आयुषसिंह ठकुरी, खुसी कार्की र दिनेश डिसी लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको निर्माणतर्फ उपेन्द्र शाही र श्वेता बिमलीले लगानी गरेका छन् भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माताको भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu