‘परालको आगो’को लोकलयमा सजिएको नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक



काठमाडौं – आगामी वैशाख ११ गतेदेखि सिनेमाघरमा आउन लागेको नेपाली चलचित्र ‘परालको आगो’ को नयाँ साङ्गीतिक कोसेली ‘निम्तो सुपारी’ दर्शकमाझ ल्याइएको छ। निर्माण पक्षले शुक्रवार ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत यस गीतको भिडियो सार्वजनिक गरेको हो। सुरेन्द्र रानाको शब्द रचना तथा सत्य-स्वरूप आचार्यको सङ्गीत रहेको यस गीतमा सत्यराज आचार्य र मेलिना राईले सुमधुर स्वर दिएका छन्। यस गीतको साङ्गीतिक संयोजन भने रिकेश गुरुङले सम्हालेका छन्।

सार्वजनिक भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सुहाना थापा र प्रकाश सपुतको आकर्षक जोडीका साथै सौगात मल्ल र सिर्जना अधिकारीको जोडीलाई प्रस्तुत गरिएको छ। ग्रामीण परिवेश र संस्कृतिलाई जीवन्त रूपमा झल्काउने यस भिडियोमा कलाकारहरूबिचको केमेस्ट्री निकै लोभलाग्दो देखिएको छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको यस लोकलयमा आधारित गीतले सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया र चर्चा बटुल्न थालेको छ। यसअघि सार्वजनिक भएको चलचित्रको ‘उडी जाऊँ भने, म पंक्षी होइन’ बोलको गीतले दर्शकको अपार माया पाइसकेको सन्दर्भमा, यस नयाँ गीतले पनि सोही साङ्गीतिक सफलतालाई निरन्तरता दिने विश्वास निर्माण पक्षले लिएको छ।

नेपाली साहित्यका धरोहर गुरुप्रसाद मैनालीको कालजयी कृति ‘परालको आगो’ बाट प्रभावित भई निर्माण गरिएको यस चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। हरि ॐ सिने मेकर्स प्रा.ली.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुहाना, सौगात, प्रकाश र सिर्जनाका अलावा किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने तथा बाल कलाकार मन्जिला बानियाँको सशक्त अभिनय रहेको छ। चलचित्रमा सुशील पोखरेलको मुख्य लगानी छ भने सुलभ पोखरेल र सत्यम पोखरेल पनि यसमा जोडिएका छन्। यसको पटकथा तथा संवाद लेखनको कार्य सुशील देवकोटाले गरेका हुन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu