एउटै युवतीका लागि दया र सौगातको भिडन्त, हराउँदै गएको मितेरी साइनो ब्युँझाउँदै ‘मितज्यू’ को टिजर सार्वजनिक



काठमाडौं – नेपाली चलचित्र ‘मितज्यू’ को आधिकारिक टिजर सार्वजनिक भएको छ। आगामी जेठ ८ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको यस चलचित्रको टिजर आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो। ग्रामिण परिवेशको कथावस्तुमा निर्माण भएको फिल्मले विशेषगरी नेपाली समाजबाट हराउँदै गइरहेको ‘मितेरी साइनो’ को महत्व र यसको मौलिकतालाई नयाँ पुस्तामाझ परिचित गराउने चेष्टा गरेको छ।

दुई मिनेट लामो सार्वजनिक टिजर निकै रोचक र कौतूहलपूर्ण छ। टिजरमा गाडी चलाएर जीविकोपार्जन गरिरहेका दुई पात्र दयाहाङ राई र सौगात मल्लको एउटै युवतीप्रतिको आशक्ति र त्यसले निम्त्याएको द्वन्द्वलाई प्राथमिकताका साथ देखाइएको छ। उनीहरूबीचको निरन्तरको झगडालाई साम्य पार्न र भविष्यमा नजुधुन् भन्ने उद्देश्यले उनीहरूबीच ‘मित’ लगाइदिने रमाइलो सन्दर्भ टिजरमा समावेश छ। यस्तै, हात हेराउन ज्योतिष कहाँ पुगेका दया र सौगातलाई परस्त्रीसँगको लसपसले विश्वकर्मा भगवानको कृपा घट्ने भविष्यवाणी गरेपछि उनीहरूमा छाएको अत्तासले फिल्मको कथावस्तु थप मनोरञ्जनात्मक हुने संकेत गरेको छ।

अनिल बुढा मगरको निर्देशनमा तयार भएको यस फिल्ममा दयाहाङ र सौगातका साथै डान्सिङ रियालिटी सोबाट चर्चामा आएकी तेरिया फौजा मगरको मुख्य भूमिका रहेको छ। यसै चलचित्रमार्फत तेरियाले नेपाली रजतपटमा अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन्। उनीहरूका अलावा फिल्ममा खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना राना मगर र अनुशा राई लगायतका कलाकारहरूको बलियो उपस्थिति रहेको छ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘मितज्यू’ का निर्माता जनक घर्ती मगर हुन्। चलचित्रलाई शिशिर बिशंखेले क्यामेरामा कैद गरेका हुन् भने सम्पादनको जिम्मेवारी लोकेश बज्राचार्यले सम्हालेका छन्। फिरोज खड्का मुख्य सहायक निर्देशक रहेको यस फिल्मको सांगीतिक पक्ष श्रीकृष्ण बम मल्लले तयार पारेका हुन्। फिल्मका गीतहरूमा संगीतकार मल्ल स्वयंका साथै चर्चित गायिकाहरू मेलिना राई र लक्ष्मी मल्लको स्वर सुन्न सकिन्छ। आरआर फिल्म्सले वितरणको जिम्मा लिएको यस चलचित्रको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। उत्कृष्ट कथावस्तु, गाउँले परिवेश र अब्बल स्टारकास्टका कारण निर्माण पक्ष फिल्मको प्रदर्शन र सफलतालाई लिएर निकै उत्साहित देखिएको छ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu