
काठमाडौं – लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ र आफ्नो जन्मदिनको दोहोरो खुसीयाली पारेर नयाँ चलचित्र ‘गंगारानी’ निर्माणको औपचारिक घोषणा गरेका छन्। ‘आहा फिल्म्स’को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमार्फत सानेले दर्शकमाझ एउटा नयाँ प्रेमकथा पस्कने तयारी गरेका हुन्। चलचित्रको सम्पूर्ण लेखन तथा निर्देशनको जिम्मेवारी साने स्वयंले सम्हाल्नेछन्।
चलचित्रको निर्माण घोषणासँगै निर्माण पक्षले एक थिम पोस्टर पनि सार्वजनिक गरेको छ जसले चलचित्रको विषयवस्तुबारे रोचक संकेत गरेको छ। सार्वजनिक पोस्टरमा गितार बोकेको एक युवक र गाडीमा अडेस लागेर उभिएकी एक युवतीलाई प्रस्तुत गरिएको छ। निर्देशक सानेका अनुसार, यो चलचित्रले मूलतः एक विपन्न युवक र सम्पन्न परिवारकी युवतीबीच हुर्कने भावनात्मक प्रेमकथालाई पर्दामा उतार्नेछ। आगामी जेठ महिनाको अन्त्यदेखि छायांकनमा जाने तयारीमा रहेको यस प्रोजेक्टका लागि मुख्य कलाकार तथा प्राविधिक टोलीको छनोट कार्य हाल अन्तिम चरणमा पुगेको र चाँडै पूर्ण विवरण सार्वजनिक गरिने बताइएको छ।
नेपाली चलचित्र उद्योगमा लामो समयदेखि सक्रिय निर्देशक सानेले हालसम्म करिब एक दर्जन चलचित्रमा आफ्नो निर्देशकीय तथा लेखकीय क्षमता प्रमाणित गरिसकेका छन्। उनको फिल्मोग्राफीमा ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘विरंगना’, ‘डोली’, ‘गुड फ्रेन्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ जस्ता चलचित्रहरू समावेश छन्। विशेषगरी समीक्षात्मक रूपमा सफल मानिएको चलचित्र ‘बुलाकी’को उत्कृष्ट पटकथा लेखनका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कारसमेत चुम्न सफल भएका थिए। विगतको यो सफलतासँगै उनको नयाँ प्रोजेक्ट ‘गंगारानी’लाई पनि दर्शकले चासोका साथ हेरेका छन्।


