नयाँ वर्षको बिदामा ‘राम नाम सत्य’को बक्स अफिसमा सानदार उछाल: एकैदिन एक करोडमाथिको व्यापार गरेको दाबी



काठमाडौं – एक्सन-ड्रामा जनरामा निर्माण भएको मल्टिस्टारर चलचित्र ‘राम नाम सत्य’ ले नयाँ वर्ष २०८३ को पहिलो दिन (मंगलबार) घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरेको छ। यस चलचित्रले सार्वजनिक बिदाको भरपुर फाइदा उठाउँदै दर्शकलाई हलसम्म तान्न सफल भएको हो। चलचित्र वितरक गोविन्द शाहीका अनुसार, मंगलबारको बिदामा मात्रै देशभरबाट चलचित्रले एक करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्ने बलियो सम्भावना छ। बिहानैदेखि देशैभरका मल्टिप्लेक्स तथा सिंगल स्क्रिनहरूमा दर्शकको खचाखच उपस्थिति रहेको र अधिकांश शोज हाउसफुल भएको उनले जानकारी दिएका छन्।

हलहरूमा दर्शकको अत्यधिक चाप बढेपछि मंगलबार मात्रै १५ देखि २० वटासम्म अतिरिक्त शोजहरू थपिएका छन्। यता, निर्माण पक्षले सामाजिक सञ्जालमार्फत जानकारी गराएअनुसार मंगलबार दिउँसोसम्ममै चलचित्रले २ करोड रुपैयाँभन्दा माथिको ग्रस व्यापार गरिसकेको छ, यद्यपि यसको औपचारिक तथ्यांक भने सार्वजनिक हुन बाँकी छ। प्रदर्शनको पहिलो र दोस्रो दिन सुखद व्यापार गरेको यस चलचित्रको कमाइ आइतबार र सोमबार केही सुस्त देखिए पनि नयाँ वर्षको दिन भने पुनः सानदार उछाल आएको हो। दर्शकबाट प्राप्त बलियो ‘वर्ड अफ माउथ’ का कारण चलचित्रले अझै लामो समय बक्स अफिसमा पकड जमाउने वितरक शाहीको विश्वास छ।

सबै उमेर समूहका दर्शकको रोजाइमा परेको यस चलचित्रको एक्सन, रोमान्स र ड्रामालाई निकै रुचाइएको छ। मंगलबारको सन्ध्याकालीन र रात्रिकालीन शोजहरूमा समेत दर्शकको चाप उस्तै रहने अनुमान वितरकको छ। यसैबीच, चलचित्रको प्रवर्द्धन र दर्शकको प्रत्यक्ष प्रतिक्रिया बुझ्न अभिनेता विराज भट्ट, अभिनेत्रीद्वय सुपुष्पा भट्ट र दिव्या रायमाझी बिहानैदेखि विभिन्न सिनेमा घरहरूमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन्। हलबाट निस्किएका दर्शकको उत्साहजनक प्रतिक्रियाले सुरुवाती व्यापारलाई लिएर केही चिन्तित रहेका अभिनेता विराजलाई यतिबेला निकै उत्साहित र सन्तुष्ट बनाएको छ।

माइकल चन्दको निर्देशनमा तयार भएको यस चलचित्रमा विराज, सुशील, सुपुष्पा र दिव्याका अतिरिक्त खुसी कार्की, आयुषसिंह ठकुरी लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। उपेन्द्र शाही र श्वेता बिमलीले संयुक्त रूपमा निर्माण गरेको ‘राम नाम सत्य’ ले प्राप्त गरेको यो व्यावसायिक सफलताले नेपाली चलचित्र उद्योगलाई नयाँ वर्षमा सुखद र ऊर्जावान सुरुवात गराएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu