
काठमाडौं – नेपाली रजतपटमा चलचित्र ‘ए मेरो हजुर २’ मार्फत सानदार डेब्यु गरेर रातारात दर्शकको ढुकढुकी बनेका अभिनेता सलिनमान बनिया लामो अन्तरालपछि अभिनयमा फर्किने तयारीमा जुटेका छन्। आफ्नो पहिलो चलचित्रबाटै अपार लोकप्रियता कमाएका उनले दोस्रो प्रोजेक्टका रूपमा ‘यात्राः अ म्युजिकल भ्लग’ मा काम गरेका थिए। तर, युवापुस्तामाझ निकै क्रेज हुँदाहुँदै उनी अचानक चलचित्र क्षेत्र र सामाजिक सञ्जाल दुवैबाट ओझेल परेका थिए। करिब आठ वर्ष लामो गुमनाम जीवन बिताइरहेका सलिनमानले नयाँ वर्षको अवसर पारेर चलचित्रमा कमब्याक गर्ने बलियो संकेत दिएपछि यतिबेला दर्शकमाझ खुसी छाएको छ।
नयाँ वर्षको छेको पारेर सलिनले सामाजिक सञ्जालमार्फत एउटा तस्बिर सार्वजनिक गरेका छन्, जसमा उनी बारमा बसेर मदिरा पिइरहेको देखिन्छन्। उक्त तस्बिरसँगै उनले निकै साहित्यिक र अर्थपूर्ण भाव व्यक्त गर्दै लेखेका छन्, ‘कहिलेकाहीँ दूरी अन्त्य होइन, तयारी हुन्छ। आठ वर्षको मौनतापछि, नयाँ वर्षले केही पुराना रंगहरू फेरि जिउँदो पार्न खोज्दैछ।’ उनको यो भनाइले उनी चलचित्र क्षेत्रबाट सदाका लागि टाढिएका नभई कुनै विशेष र ठूलो तयारीका साथ पर्दामा फर्किन लागेको स्पष्ट संकेत गरेको छ।
मिडिया र सार्वजनिक कार्यक्रमबाट पूर्णतः टाढा रहेका सलिनमान गत वर्ष अभिनेता सलोन बस्नेतको चलचित्र ‘रंगी’को प्रिमियरमा मात्र देखा परेका थिए। अहिले कुन चलचित्र वा कस्तो ब्यानरबाट उनको पुनरागमन हुँदैछ भन्नेबारे आधिकारिक जानकारी भने बाहिर आइसकेको छैन। यद्यपि, चलचित्र वृत्तमा उनी मिल्ने साथी सलोन बस्नेतकै कुनै नयाँ प्रोजेक्टमार्फत फर्किन लागेको चर्चा छ, जसको पुष्टि भने दुवै पक्षले अहिलेसम्म गरेका छैनन्। सलिनले सार्वजनिक गरेको उक्त तस्बिर कुनै चलचित्रकै छायांकनको दृश्य जस्तो देखिने हुँदा उनका फ्यानहरू नयाँ वर्षको उपहार स्वरूप आएको यो संकेतपछि अब औपचारिक घोषणाको व्यग्र प्रतीक्षामा रहेका छन्।


