
सुर्खेत: कर्णाली प्रदेशका अनगिन्ती कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यका साथ ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ आयोजना हुने भएको छ। बिहीबार सुर्खेतको होटल नमस्तेमा आयोजित एक पत्रकार सम्मेलनमार्फत महोत्सवको विस्तृत कार्ययोजना तथा पहिलो चरणका कार्यक्रमहरूबारे औपचारिक जानकारी गराइएको हो। कर्णालीलाई चलचित्र पर्यटनको केन्द्र बनाउने बृहत् लक्ष्यसहित आयोजना हुन लागेको यस महोत्सवले राज्यको न्यून उपस्थिति रहेको यस क्षेत्रमा चलचित्रका माध्यमबाट सामाजिक, आर्थिक र शैक्षिक रूपान्तरण ल्याउने दाबी गरेको छ।
‘घूमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नारा र ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ भन्ने अभियानका साथ सुरु हुन लागेको यस महोत्सवको औपचारिक समुद्घाटन आगामी वैशाख ११ गते (२४ अप्रिल २०२६) वीरेन्द्रनगरस्थित होटल शुभमा हुनेछ। सोही दिन ‘चलचित्र पर्यटन संवाद’ समेत आयोजना गरिनेछ। उक्त उद्घाटन तथा संवाद कार्यक्रममा चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, संघीय, प्रादेशिक र स्थानीय तहका प्रतिनिधिहरूका साथै ख्यातिप्राप्त चलचित्र निर्माता, निर्देशक र कलाकारहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ। यसैगरी, महोत्सवको दोस्रो दिन वैशाख १२ गते सल्यानको प्रसिद्ध पर्यटकीय स्थल कुपिण्डे दहमा विशेष ‘कुपिण्डे चलचित्र पर्यटन समारोह’ आयोजना गरिने कार्यतालिका सार्वजनिक गरिएको छ।
महोत्सवले कर्णालीका लुकेका कथा, जीवनशैली, भाषा र भेषभूषालाई चलचित्रको पर्दामार्फत विश्वसामु पुर्याउने लक्ष्य राखेको छ। पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका निर्देशक चक्र बहादुर चन्दले कर्णालीमा प्रचुर सम्भावना भएर पनि चलचित्र र पर्यटनका गतिविधि शून्यप्रायः रहेको अवस्थामा यो महोत्सव एउटा कोसेढुङ्गा साबित हुने बताए। संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी कर्णालीको माटो र कथालाई विश्व मानचित्रमा स्थापित गर्दै यस क्षेत्रलाई अन्तर्राष्ट्रिय ‘सुटिङ हब’का रूपमा विकास गर्ने महोत्सवको दीर्घकालीन योजना रहेको निर्देशक चन्दले स्पष्ट पारे।
यस वर्षको महोत्सवको विशेष आकर्षणका रूपमा ‘चलचित्र कथा प्रतियोगिता’लाई अघि सारिएको छ। कर्णालीका लुकेका र ओझेलमा परेका कथा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताको उत्कृष्ट कथालाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। आयोजकका अनुसार उक्त प्रतियोगिताको नतिजा छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको छ। चलचित्र र पर्यटनलाई जोडेर स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र आयआर्जन बढाउने लक्ष्य बोकेको यस महोत्सवले जलवायु परिवर्तनले पारेको गम्भीर असरबारे पनि चलचित्रकै माध्यमबाट जनमानसमा सचेतना जगाउने संकल्प लिएको छ।
विभिन्न क्षेत्रका सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको उक्त पत्रकार सम्मेलनमा महोत्सवले कर्णालीको पर्यटन प्रवर्द्धनका साथै आर्थिक गतिविधि र सूचना प्रविधिको विकासमा समेत महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको थियो। कार्यक्रमको अन्त्यमा महोत्सवका सल्लाहकार डा. महेन्द्र कुमार मल्लले यो कर्णालीकै गौरवको आयोजना भएकाले यसलाई भव्य रूपमा सफल पार्न सञ्चारमाध्यम लगायत सम्पूर्ण सरोकारवाला निकाय र आम नागरिकलाई विशेष अपिल गरेका थिए।




