
काठमाडौं – आगामी वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा एक समारोहको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर दर्शकमाझ ल्याएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको साथमा चलचित्रका निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवालीका साथै अन्य टिमको उपस्थिति रहेको थियो।
सार्वजनिक ट्रेलरले ‘मालती मंगले’लाई पूर्ण पारिवारिक र सामाजिक कथामा निर्माण गरिएको चलचित्रको रूपमा चिनाएको छ। ट्रेलरमा मालती (वर्षा राउत) र मंगले (विजय बराल) बीचको प्रेम कथा, उनीहरूको सम्बन्धमा आउने दरार र पारिवारिक खटपटलाई प्रस्तुत गरिएको छ। यसैगरी, अभिनेता मेक्सम गौडेललाई हरि नामक नेगेटिभ चरित्रमा देखाइएको छ भने साथीभाइबीचको सुमधुर सम्बन्ध र त्यसमा आउने उतारचढावलाई पनि ट्रेलरमा स्थान दिइएको छ। छोरा र छोरीबीच समाजले गर्ने विभेदकारी मानसिकतालाई उठान गरेको चलचित्रको ट्रेलरमा समावेश ‘नाक फुटेको मात्र देखिस्, नाक काटेको देखिनस्’ भन्ने संवादले समाजमा बस्दा छरपस्ट रूपमा नै ‘इज्जत’ देखाउनुपर्ने बाध्यतालाई मार्मिक रूपमा प्रस्ट पारेको छ। साथै, ट्रेलरमा चलचित्रका चर्चित गीतहरू ‘झ्याम पारम’ र ‘सुनैको सपनी’का केही आकर्षक अंशहरू पनि समावेश गरिएका छन्।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रको कथा स्वयं निर्देशक प्रकु पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका थुप्रै कलाकारहरूको सशक्त अभिनय रहेको छ। यसअघि नै चलचित्रको टिजरको साथै गीतहरू ‘सुनैको सपनी’, ‘ढुङ्गा माथि लेऊ’ र आकर्षक डान्सिङ नम्बर ‘झ्याम पारम’ सार्वजनिक भइसकेका छन्।
यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्। महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको यस चलचित्रको प्राविधिक पक्ष निकै उत्कृष्ट रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने यो चलचित्रले वैशाख २५ गतेबाट दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्माण पक्षले लिएको छ।
ट्रेलर:




