भदौ १९ मा रिलिज हुँदै ‘बा : एक योद्धा’, पर्दामा पहिलोपटक झरना र सुहाना



काठमाडौं – नेपाली चलचित्र प्रेमीहरूका लागि एउटा नयाँ पारिवारिक तथा सामाजिक कथा बोकेको सिनेमा ‘बा : एक योद्धा’को प्रदर्शन मिति तय भएको छ। बुवाको मुख हेर्ने दिन (कुशे औँसी) को अवसर पारेर निर्माण पक्षले यो चलचित्रलाई आगामी भदौ १९ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा ल्याउने घोषणा गरेको हो।

नेपाली सुगम संगीतमा अनगिन्ती कालजयी सिर्जना पस्किसकेका ख्यातिप्राप्त संगीतकार हरि लम्सालले यसै चलचित्रमार्फत निर्देशनको दुनियाँमा पाइला टेकेका छन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमाको कथा र पटकथा स्वयम् नव-निर्देशक लम्सालले नै कोरेका हुन्। गायन र संगीतमा आफ्नो बलियो उपस्थिति जनाइसकेका उनको यो नयाँ निर्देशकीय अवतारलाई सिने वृत्तमा निकै चासोका साथ हेरिएको छ। यस चलचित्रका निर्माता वसन्त लम्साल हुन्, जो आफैँमा एक परिचित गायक तथा सर्जक हुन्। उनले यसअघि अभिनेता विपिन कार्की अभिनित चलचित्र ‘कर्मा’ निर्माण गरिसकेका छन्।

गत चैत ९ गतेबाट छायांकनमा गएको यस चलचित्रले सुरुवातदेखि नै आफ्ना कलाकारहरूको नाम गोप्य राखेर दर्शकमा कौतूहल जगाएको थियो। तर, हालै मात्र सुटिङ सेटबाट बाहिरिएको जानकारी अनुसार चलचित्रको मुख्य भूमिकामा अभिनेत्री झरना थापा, उनकी छोरी सुहाना थापा र अभिनेता दिव्यदेव पन्त रहेका छन्। यस चलचित्रको अर्को रोचक पक्ष भनेको वास्तविक जीवनका आमा-छोरी झरना र सुहानाले पहिलोपटक एउटै चलचित्रमा स्क्रिन सेयर गर्दैछन्। उनीहरू सिनेमामा पनि आमा र छोरीकै जीवन्त भूमिकामा देखिनेछन्।

नामले नै स्पष्ट पारेझैँ यो चलचित्रले एक विशुद्ध पारिवारिक कथावाचन गर्नेछ। सन्तानको उज्वल भविष्यका निम्ति गाउँदेखि सहरसम्मका एक बाबुले गर्ने असीमित त्याग, संघर्ष र जीवनका अनेकन हन्डरहरूलाई ‘योद्धा’को विम्बमार्फत प्रस्तुत गर्न खोजिएको छ। बाबुको काँधमा हुने गहन जिम्मेवारीलाई सिनेमाले मार्मिक ढंगले पर्दामा उतार्ने प्रयास गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu