‘लालीबजार’लाई लिएर बादी समुदायमै दुई धार: एकातिर अदालतमा मुद्दा, अर्कोतिर प्रशंसा



काठमाडौं – आगामी वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’लाई लिएर बादी समुदायभित्रै दुई फरक दृष्टिकोण देखिएका छन्। एकातिर चलचित्रले समुदायको गलत चित्रण गरेको भन्दै प्रदर्शन रोक्न मागसहित अदालतमा मुद्दा दायर भएको छ भने, अर्कोतिर सोही समुदायका अन्य अभियन्ताहरूले चलचित्रले आफ्नो सङ्घर्षको कथा देखाएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिएका छन्।

बादी समुदायकी रोशनी नेपालीले चलचित्रले आफ्ना पीडा र घाउलाई बेचेर गलत चित्रण गरेको दाबी गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेकी छन्। चलचित्र हेरेकी उनले ‘लालीबजार’ले बादी समुदायको नैतिकताको हत्या गर्ने प्रयास गरेको आरोप लगाउँदै यसको प्रदर्शन रोक्न माग गरेकी हुन्।

यसको ठीक विपरीत, बादी समुदायकै देवीसरा बादी, हिक्मत बादी र रमा बादीलगायतका अभियन्ताहरूले भने चलचित्रले समुदायको भावनामा ठेस नपुर्‍याएको बताएका छन्। सुरुमा आपत्तिजनक लागेका शब्दहरू निर्माण पक्षले हटाइसकेको भन्दै उनीहरूले चलचित्रको प्रशंसा गरेका छन्। ‘लालीबजार’ मूलतः शासक र शोषकविरुद्ध एक आमाले छोरीलाई बचाउन गरेको सङ्घर्षको कथा रहेको र यसले अन्यायविरुद्ध लड्न हौसला दिएको उनीहरूको ठहर छ।

यम थापा निर्देशित तथा षट्कोण आर्ट्सद्वारा निर्मित यस चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सबैले हेर्न मिल्ने गरी ‘युनिभर्सल’ प्रमाणपत्र दिइसकेको छ। प्रदर्शनको अन्तिम तयारीमा रहँदा अदालतमा रिट दर्ता भएपछि नेपाल चलचित्र निर्माता संघले पनि विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ। सेन्सर बोर्डबाट पास भइसकेको चलचित्रलाई प्रदर्शनको मुखैमा रोक्ने प्रयासले करोडौंको लगानी र सर्जकको मनोबल कमजोर पार्ने भन्दै संघले निर्बाध रूपमा प्रदर्शन हुने वातावरण निर्माण गरिदिन आग्रह गरेको छ। कलाको न्याय अदालतले गर्न नसक्ने भन्दै अभिव्यक्ति स्वतन्त्रता हनन हुन नहुने चलचित्रकर्मीहरूले बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu