२२ वैशाखसम्म ‘लालीबजार’को प्रदर्शन रोक्न उच्च अदालतको आदेश



काठमाडौं – उच्च अदालत पाटनले नेपाली चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि रोक्न आदेश दिएको छ। वादी समुदायको तर्फबाट दायर भएको रिटमाथि सुनुवाइ गर्दै अदालतले यही वैशाख २२ गतेसम्मका लागि चलचित्र प्रदर्शन नगर्न अल्पकालीन आदेश जारी गरेको हो।

उच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले उक्त आदेश दिएको हो। चलचित्रमा प्रयोग भएका कतिपय संवाद र शब्दहरू आपत्तिजनक रहेको भन्दै रोशनी नेपालीले वादी समुदायका तर्फबाट अदालतमा रिट निवेदन दर्ता गराएकी थिइन्। सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्कालका लागि प्रदर्शन स्थगनको निर्णय सुनाएको हो।

यम थापाको निर्देशन तथा षट्कोण आर्टसको निर्माण रहेको यस चलचित्र आगामी वैशाख १८ गतेदेखि देशभरका सिनेमा घरमा आउने अन्तिम तयारीमा थियो। विशेषगरी वादी समुदायका महिलाहरूले समाजमा गर्नुपरेको कठोर संघर्ष र उनीहरूको भोगाइलाई यस चलचित्रले मुख्य कथावस्तु बनाएको छ।

अदालतले प्रदर्शनमा रोक लगाउनुभन्दा ठीक अघि अर्थात् सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले यस चलचित्रलाई सबै उमेर समूहले हेर्न मिल्ने गरी ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरिसकेको थियो। सेन्सर बोर्डबाट हरियो झन्डा पाएर प्रदर्शनको संघारमा पुगेको चलचित्रलाई अदालतको यस आदेशले झट्का दिएको छ। अब चलचित्रको आगामी यात्रा वैशाख २२ गते हुने थप सुनुवाइपछि मात्र तय हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu