पुरानै विरासत बोकेर नयाँ स्वरूपमा आउँदै ‘गौथली’, प्रदर्शन मिति साउन १ लाई तय



नेपाली रजतपटमा झण्डै दुई दशकअघि स्वर्णिम इतिहास रचेको चलचित्र ‘गौथली’को नाम र विरासतलाई नयाँ स्वरूपमा प्रस्तुत गरिँदैछ। वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथामा निर्माण भई प्रदर्शनको ५१औं दिन मनाउन सफल भएको सोही भावनात्मक नाम बोकेर नयाँ चलचित्र ‘गौथली’ दर्शकमाझ आउन लागेको हो। निर्माण पक्षले चलचित्रको वितरण अधिकार टुंगो लगाएसँगै फस्टलुक पोस्टर सार्वजनिक गरेर आगामी साउन १ गते (जुलाई १७) लाई आधिकारिक प्रदर्शन मिति घोषणा गरेको छ।

यसअघि अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘ह्यारीकी प्यारी’ निर्देशन गरिसकेका डा. कपिल रिजालले यस चलचित्रको निर्देशन गरेका हुन्। चलचित्रको पर्दामा नायक अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काको नयाँ जोडीलाई मुख्य भूमिकामा देख्न पाइनेछ। उनीहरूका साथमा नेपाली कला क्षेत्रका दिग्गज व्यक्तित्व मदनकृष्ण श्रेष्ठसहित प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपाली जस्ता स्थापित कलाकारहरूको सशक्त अभिनय रहनेछ। बाल कलाकारको भूमिकामा भने अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थलाई पर्दामा उतार्न खोजिएको यस चलचित्रको मूल कथा वरिष्ठ चिकित्सक डा. भोला रिजालले नै सिर्जना गरेका हुन्। पटकथा तथा संवाद लेखनमा भने निर्देशक डा. कपिल रिजाललाई निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सघाएका छन्। पारिवारिक मूल्य र मान्यतालाई गहिरोसँग उठान गर्ने प्रयास गरिएको यो चलचित्रले पुरानो पुस्ता र नयाँ पुस्ता दुवैलाई जोड्ने अपेक्षा निर्माण पक्षको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको ‘गौथली’मा सरला रिजाल कार्यकारी निर्माता रहेकी छन् भने सुमन गिरी र डा. कपिल रिजालले निर्माणको जिम्मेवारी सम्हालेका छन्। यसैगरी चलचित्रमा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताका रूपमा जोडिएका छन्। संगीततर्फ वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको सुमधुर सिर्जना सुन्न सकिन्छ भने पार्श्व संगीतको जिम्मा एलिस कार्कीले सम्हालेका छन्।

हरि हुमागाईंको छायांकन रहेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस प्रोजेक्टमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक रहेका छन्। त्यस्तै, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी, मुकेश शाहको ध्वनि मिश्रण तथा राजेन्द्र मोक्तानको रङ संयोजन रहेको छ। यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले देशभरका हलहरूमा वितरण गर्दैछन् भने यसको सम्पूर्ण डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu