दशैंको भीडभाड छल्दै ‘झिँगेदाउ २’ असोज २ मा आउने, क्यारेक्टर पोस्टर सार्वजनिक



ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ ले आफ्नो आधिकारिक प्रदर्शन मिति तय गरेको छ। निर्माण पक्षले मंगलबार चलचित्रका चार मुख्य पात्रहरूको चरित्र झल्किने आकर्षक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गते, अर्थात् संविधान दिवसको दिनलाई देशव्यापी प्रदर्शनको मितिका रूपमा घोषणा गरेको हो।

यसअघि यो चलचित्रलाई बडादशैंको फूलपातीका दिन दर्शकमाझ ल्याउने योजना बुनिएको थियो। तर, उक्त समयमा अन्य थुप्रै चलचित्रहरू प्रदर्शनमा आउने र बक्स अफिसमा अस्वस्थ होडबाजी हुने देखिएपछि सुरक्षित अवतरणका लागि असोज २ गतेलाई रोजिएको निर्देशक देउजाले स्पष्ट पारेका छन्। सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माका साथै अभिनेताद्वय महेश त्रिपाठी र कुशल विष्टलाई उनीहरूको चलचित्रभित्रको लुक्समा देख्न सकिन्छ। यस प्रस्तुतिले दर्शकहरूमा चलचित्रप्रतिको उत्सुकता र कौतूहलता थप बढाउने विश्वास निर्माण टोलीले लिएको छ।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा निर्देशक देउजा स्वयम्‌ले सिर्जना गरेका हुन्। चलचित्रमा केकी, आँचल, महेश र कुशलका अलावा सरोज खनाल, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिउँवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल र आशिष पुरुष लगायतका चर्चित तथा दिग्गज कलाकारहरूको बलियो उपस्थिति रहेको छ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको यस चलचित्रको पटकथा लेखनमा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले सहकार्य गरेका छन्। विष्णु घिमिरे ‘कल्पित’ को छायांकन रहेको ‘झिँगेदाउ २’ मा अर्जुन पोखरेलको सङ्गीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको नृत्य निर्देशन तथा मित्र डि. गुरुङको सम्पादन रहेको छ। त्यसैगरी, ईश्वर घिमिरेले प्रोडक्सन म्यानेजरको भूमिका निर्वाह गर्दा पासाङ टि. शेर्पा र मानिक पाख्रिनले कला निर्देशनको जिम्मेवारी सम्हालेका छन्।

काभ्रे, काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र चितवन जस्ता विभिन्न मनमोहक स्थानहरूमा छायांकन सम्पन्न भएको यस चलचित्रको यतिबेला धमाधम डबिङको काम भइरहेको निर्माण पक्षले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu