
काठमाडौं – नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनमा रोक लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध चलचित्रकर्मीहरू आन्दोलित भएका छन्। कला, साहित्य र अभिव्यक्ति स्वतन्त्रताको रक्षाको माग गर्दै विभिन्न चलचित्र सम्बद्ध संघसंस्थाका प्रतिनिधि तथा कलाकारहरूले माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन्।
वैशाख १८ गतेबाट सर्वत्र प्रदर्शनमा आउने तयारीमा रहेको उक्त चलचित्रलाई रिलिजको तीन दिन अगावै अर्थात् वैशाख १५ गते अदालतले रोक लगाएको थियो। कुनै एक व्यक्तिको उजुरीलाई मात्र आधार मानेर, सरोकारवाला तथा सम्बन्धित पक्षको कुरै नसुनी एकतर्फी रूपमा दिइएको उक्त आदेशले सर्जकको स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको चलचित्रकर्मीहरूको ठहर छ।
अदालतको सोही कदमको विरोध गर्दै नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्देशक समाजले संयुक्त रूपमा ऐक्यबद्धता जनाएका हुन्। सृजनशील क्षेत्रमाथि यस्ता हस्तक्षेप आगामी दिनमा नदोहोरिऊन् र सिर्जनात्मक स्वतन्त्रताको संवर्द्धन होस् भन्ने सन्देश दिन कलाकर्मीहरूले हातमा कालो पट्टी बाँधेर १५ मिनेटसम्म मौन धारण गर्दै शान्तिपूर्ण तथा मर्यादित रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।
मौन प्रदर्शनपश्चात् आयोजित कार्यक्रममा बोल्दै चलचित्र क्षेत्रका अगुवाहरूले अदालतले विषयवस्तुको गहिराइ नबुझी हतारमा निर्णय लिएको भन्दै ध्यानाकर्षण गराएका छन्। कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, महासचिव खगेन्द्र लामिछाने, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन र चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीसहितका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। त्यसैगरी, निर्देशक तथा कलाकारहरू अशोक शर्मा, मनोज पण्डित, गणेश देव पाण्डे, निश्चल बस्नेत, सुयोग गुरुङ र रौनक विक्रम कँडेल लगायतले आफ्नो धारणा राख्दै कुनै पनि चलचित्रमाथि प्रतिबन्ध जस्तो कठोर निष्कर्षमा पुग्नुअघि त्यसको कथावस्तु र मर्मलाई गहिरिएर बुझ्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।




