
पोष्ट प्रोडक्सनको काम भइरहेको नयाँ नेपाली चलचित्र ‘बब डाई’मा समावेश एक गीतको भिडियो छायांकन सम्पन्न भएको छ। ललितपुरको भैंसेपाटीमा सोमबार र मंगलबार खिचिएको यस गीतमा युवा गायक कुशल पोख्रेलले आफ्नो स्वर र शब्द दिएका छन्। सार्वजनिक गर्ने तयारीमा रहेको उक्त भिडियोमा चलचित्रका अधिकांश कलाकारहरूलाई पर्दामा उतारिएको छ। यद्यपि, चलचित्रका मुख्य अभिनेता सौगात मल्ल समावेश केही दृश्यहरू भने आगामी केही दिनभित्रै खिचेर भिडियोलाई पूर्णता दिइने निर्माण पक्षले जनाएको छ।
करिब डेढ वर्षअघि रिलिज भएको ‘पैसा’ नामक गीतबाट सांगीतिक बजारमा निकै चर्चा कमाएका गायक पोख्रेलले यसै चलचित्रमार्फत अभिनय यात्राको समेत थालनी गर्दैछन्। अन्य चलचित्रहरूमा पनि आफ्नो स्वर दिइसकेका कुशलको यस गीतमा चर्चिल भुसालको बेस र केपासको मिक्सिङ तथा मास्टरिङ रहेको छ। सांगीतिक क्षेत्रमा स्थापित उनी ‘बब डाई’मार्फत डेब्यु कलाकारका रूपमा अभिनयमा पनि आफ्नो जादु देखाउन तयार छन्।
रोटेपिङ्ग इन्टरटेन्मेन्ट र श्रीराम बालाजी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भइरहेको यो पूर्णतया कमेडी जनराको चलचित्र हो। चलचित्रमा सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको छ। अभिनेता मल्लले चलचित्रको शीर्ष चरित्र अर्थात् ‘बब डाई’को भूमिका निर्वाह गरेका छन्। निर्देशक प्रवीण श्रेष्ठका अनुसार नेवारी लवजमा दाइलाई ‘डाई’ भनेर सम्बोधन गरिने हुनाले चलचित्रको नाम नै ‘बब डाई’ जुराइएको हो। चलचित्रमा सौगात र सिम्रनका अलावा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोख्रेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी र भिन्तुना जोशी लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ। साथै, बालकलाकारको रूपमा अग्रिम पण्डितले अभिनय गरेका छन्।
मैनिषा गौचन र निर्देशक श्रेष्ठ स्वयंको कथा रहेको यस चलचित्रको सम्पादनको जिम्मेवारी पनि निर्देशक श्रेष्ठले नै सम्हालेका छन्। श्याम तामाङ र उनको टोलीले दृश्य कैद गरेको यस प्रोजेक्टमा दिनेश बहादुर राउत एसोसिएट निर्देशक र तर्कराज न्यौपाने मुख्य सहायक निर्देशकको रूपमा जोडिएका छन्। रविन्द्र प्रजापती कार्यकारी निर्माता रहेको यस चलचित्रमा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धरको संयुक्त लगानी रहेको छ। निर्माण टिमले वर्ष २०८३ भित्रै चलचित्रलाई दर्शकमाझ ल्याउने लक्ष्य राखेको छ भने आधिकारिक प्रदर्शन मिति छिट्टै घोषणा गरिने बताएको छ।




