
नेपाली चलचित्र ‘जूबा’को औपचारिक रूपमा छायांकन आरम्भ भएको छ। बुधबार सर्लाहीमा एक विशेष शुभमुहूर्त कार्यक्रमको आयोजना गर्दै अस्त्र फिल्मस्को प्रस्तुति रहेको यस चलचित्रको सुटिङ सुरु गरिएको हो। निर्माण पक्षका अनुसार यस चलचित्रको सम्पूर्ण दृश्यहरू कैद गर्न करिब ७५ दिनको लामो सेड्युल तय गरिएको छ। सर्लाहीबाट सुरु भएको यसको सुटिङ काठमाडौं हुँदै छिमेकी राष्ट्र भारतको राजस्थानसम्म पुगेर सम्पन्न हुनेछ। छायांकनका लागि छुट्याइएको लामो समय र तय गरिएका फराकिला लोकेसनहरूलाई हेर्दा चलचित्र निकै ठूलो क्यानभासमा निर्माण हुन लागेको र यसले दर्शकलाई पूर्ण रूपमा उत्कृष्ट सिनेम्याटिक अनुभव दिने सहजै अनुमान लगाउन सकिन्छ।
प्रकाश कर्णको लेखन तथा निर्देशनमा बन्न लागेको यस चलचित्रमा चर्चित अभिनेता सौगात मल्ल मुख्य भूमिकामा देखिँदैछन्। यसै प्रोजेक्टमार्फत अभिनेत्री सोफी धरेलले नेपाली रजतपटमा आफ्नो अभिनय यात्राको (डेब्यु) थालनी गर्दैछिन्। यसका साथै, यसअघि दुईवटा चलचित्रमा काम गरिसकेका सुधन पोखरेल पनि पहिलोपटक मुख्य भूमिकामा प्रस्तुत हुँदैछन्। रक क्यासल स्टुडियोको निर्माण रहने ‘जूबा’मा निर्देशक कर्ण र वर्षा पौडेलले क्रियटिभ प्रोड्युसरको संयुक्त जिम्मेवारी सम्हालेका छन्। चलचित्रको पटकथा तथा संवाद लेखनको काम भने वर्षा स्वयंले तयार पारेकी हुन्।
निर्माण घोषणाको समयमा निर्माण पक्षले सार्वजनिक गरेका तीनवटा क्यारेक्टर पोस्टरहरूले चलचित्रको कथावस्तुबारे केही रोचक संकेतहरू दिएका छन्। सार्वजनिक पहिलो पोस्टरमा अभिनेता मल्ल क्यामेरा अगाडि उभिएर नमस्ते गरिरहेको मुद्रामा देखिएका थिए। त्यसैगरी दोस्रो पोस्टरमा उनी सार्वजनिक टेलिफोन (पीसीओ) मा कुरा गरिरहेको र अभिनेत्री सोफी रिसाएको भावमा प्रस्तुत थिइन्। पोस्टरमा प्रयोग गरिएको ल्यान्डलाइन फोन र कलाकारहरूको पहिरनले यो चलचित्रले करिब दुई दशक पुरानो समयको कथा भन्ने प्रस्ट्याएको छ। त्यस्तै, तेस्रो पोस्टरमा सिगार तानिरहेका सुधनको आवरणले उनी चलचित्रमा एक खतरनाक खलपात्र (भिलेन) को रूपमा आउन लागेको प्रष्ट पारेको छ। यद्यपि, चलचित्रको विस्तृत कथावस्तु र अन्य कलाकारहरूको बारेमा भने निर्माण टोलीले हालसम्म गोपनीयता नै अपनाएको छ।




