‘लभर ब्वाई’ छवि बदल्दै एक्सन अवतारमा सलिमान, जन्मदिनमा सार्वजनिक भयो ‘युनिभर्सिटी अफ गुण्डाज्’ को टिजर



काठमाडौं – अभिनेता सलिनमान बनियाँले आफ्नो जन्मदिनको अवसर पारेर दर्शकलाई नयाँ चलचित्रको टिजरमार्फत विशेष ‘सरप्राइज’ दिएका छन्। सान्भी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको एक्सन जनराको चलचित्र ‘युनिभर्सिटी अफ गुण्डाज्’ को १ मिनेट १२ सेकेन्ड लामो टिजर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। चलचित्र ‘यात्रा’ पछि लामो समय पर्दाबाहिर रहेका सलिनमानले यस चलचित्रबाट आफ्नो परम्परागत ‘लभर ब्वाई’ छविलाई भत्काउँदै खतरनाक एक्सन अवतारमा दमदार कमब्याक गरेका छन्।

सार्वजनिक टिजरमा सलिनमानसँगै अर्का लोकप्रिय अभिनेता सलोन बस्नेतलाई पनि बिलकुलै भिन्न र एक्सन भूमिकामा देख्न सकिन्छ। टिजरमा यी दुई अभिनेतालाई एउटै ग्याङका साथीको रूपमा प्रस्तुत गरिएको छ, जो आफ्नो समूहको उद्देश्य प्राप्तिका लागि कडा लडाइँ लडिरहेका छन्। पछिल्लो समय बनिरहेका नेपाली चलचित्रभन्दा निकै फरक स्वाद पस्कने संकेत गरेको यस टिजरले दर्शकमा कौतूहलता जगाएको छ। यसको विस्तृत कथा र बाँकी रहस्य भने आगामी ट्रेलरबाट मात्र खुल्ने अपेक्षा गरिएको छ।

रोचक कुरा त के छ भने, यस चलचित्रको कथा स्वयं अभिनेता सलिनमान बनियाँले नै लेखेका हुन् भने निर्देशनको कमान्ड सुरेश न्यौपानेले सम्हालेका छन्। मुख्य कलाकारका रूपमा सलिन र सलोनलाई मात्र चिनाएको निर्माण पक्षले अन्य कलाकार र प्रदर्शन मिति भने हालसम्म गोप्य नै राखेको छ। टिजरप्रतिको दर्शकको प्रतिक्रिया मूल्यांकन गरेर मात्रै फिल्मको प्रदर्शन मिति घोषणा गर्ने निर्माण टोलीको रणनीति हुन सक्ने अनुमान गरिएको छ।

चलचित्रलाई प्राविधिक रूपमा पनि अब्बल बनाउन अनुभवी टोली खटिएको छ। मन्दिप गौतमको पटकथा रहेको यस चलचित्रलाई सौरभ लामाले क्यामेरामा कैद गरेका हुन्। चलचित्रमा रोमन बज्रचार्यको पार्श्व संगीत, मुकेश शाहको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर करेक्सन रहनेछ। त्यसैगरी, सम्पादन र ट्रेलर तयार पार्ने जिम्मेवारी बन्दे प्रसादले लिएका छन् भने भिएफएक्सको काम मनोज श्रेष्ठले गर्दैछन्। प्रोडक्सन म्यानेजरमा सुवास काफ्ले र सहायक प्रोडक्सन म्यानेजरमा केवलमान सिंह बस्नेत रहेका छन् भने कलाकारको मेकअप मनोज लामाले गरेका छन्।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu