चलचित्र ‘मालती मंगले’को सेन्सर सम्पन्न, शुक्रवार रिलिज हुने



काठमाडौं – शनिवार सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेपछि सेन्सर बोर्डका सदस्यहरू पदमुक्त हुँदा चलचित्रको जाँचपास कसरी हुने भन्ने विषयमा ठुलो अन्योल छाएको थियो। यद्यपि, यसै अन्योल र रिक्तताका बीच पनि नेपाली चलचित्र ‘मालती मंगले’को सेन्सर कार्य भने सफलतापूर्वक सम्पन्न भएको छ। २ घण्टा ३८ मिनेट लामो यस चलचित्रले सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ। प्रमाणपत्र बुझ्न निर्माता तथा गायक रामकृष्ण ढकाल आफैँ पुगेका थिए। यो चलचित्र यही वैशाख २५ गते शुक्रवार रिलिज हुँदैछ।

सेन्सर बोर्डका सदस्यहरूको पदावधि मुक्त भएको अवस्थामा चलचित्र जाँचलाई अत्यावश्यक सेवा मानेर चलचित्र विकास बोर्डले पठाएको प्रतिनिधिको उपस्थितिमा सेन्सर गरिएको हो। यसका लागि चलचित्र विकास बोर्डका तर्फबाट दीपा बस्नेतलाई प्रतिनिधिको रूपमा पठाइएको थियो। जाँचपास समितिका अध्यक्षसहित विभिन्न मन्त्रालयका प्रतिनिधिहरू भने पदेन सदस्य रहने व्यवस्था भएको हुनाले उनीहरूको उपस्थिति भने कायमै थियो र सोही अनुरूप चलचित्रको सेन्सर कार्य अघि बढाइएको हो।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्र ‘मालती मंगले’को कथा स्वयं निर्देशक प्रकु पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। यस चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका थुप्रै कलाकारहरूको सशक्त अभिनय रहेको छ। चलचित्रको ट्रेलर तथा टिजरका साथै ‘सुनैको सपनी’, ‘ढुङ्गा माथि लेऊ’ र आकर्षक डान्सिङ नम्बर ‘झ्याम पारम’ जस्ता गीतहरू यसअघि नै सार्वजनिक भइसकेका छन् जसले दर्शकको राम्रो ध्यान तानेको छ।

यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्। प्राविधिक रूपमा पनि निकै उत्कृष्ट मानिएको यस चलचित्रमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने यो चलचित्रले यही शुक्रवारबाट दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्माण पक्षले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu